प्रचण्ड कमरेडको शायद त्यो अन्तिम रुवाइ

प्रचण्ड कमरेडको शायद त्यो अन्तिम रुवाइ

मान्छेको आँखाबाट आँशु त्यसै खस्दैन । जब कुनै कुराले हृदयमा छुन्छ, तब आँखा नदी बन्छ । संसारका जतिसुकै कठोर शासकहरू पनि जीवनमा एक पटक रुन्छन्, चाहे त्यो भावनामा बगेर होस् वा अनायासै !
सोचौँ, १० वर्षे जनयुद्धको नेतृत्व गरेर सिंगै देश तरंगित पार्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीवनमा कति पटक रोए होलान् ? कहिले–कहिले रोए होलान् ? 

यो प्रश्नको सामान्य जवाफ हुन सक्छ, छोरो प्रकाश दाहाल (०७४ मंसिर ३) र पत्नी सीता दाहाल (०८० असार २७)को निधनमा । यसको अलावा ? यहाँ एउटा घटनाको चर्चा गर्दैछौं, जहाँ प्रचण्ड आँशु लुकाएर रोए । मन थाम्नै नसकेर रोए । बेपत्ता आफ्नै सहयोद्धा र शहीद सम्झिएर रोए । यस्ता सम्झना दिलाउने गीतका पंक्तिहरू सुनेर रोए । 

घटना हो, ०६२ सालको । जतिबेला रोल्पाको थवाङ–जलजला र रुकुमको तकसेराबाट बगेको रगत बासी भइसकेको थिएन । जनताको आँशु चिसो भइसकेको थिएन । असोज ३ गते चुनवाङ बैठकअन्तर्गत विशेष साँस्कृतिक कार्यक्रम थियो । कार्यक्रम शुरु भयो, दिउँसो १ बजेबाट । ब्यानरअघि उभिएर जनवादी कलाकारले लाइभ गाउन थाले । 

गीत थियो पूर्ण घर्तीले लेखेको– 

कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन

कसले भन्छ, योद्धाहरूको जित हुँदैन
एक दुई हार हुन सक्छ, 
तर मुटु इस्पात बन्छ !

आवाजमा गुञ्जिरहेका थिए, मोहित श्रेष्ठ र कर्ण परियार ‘विद्रोही’ । उनीहरूको स्वरमा मिसिएको थियो, मादल, तबला, गितार, बाँसुरी र क्यासियोको धुन । 

जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डसहित तत्कालीन माओवादीका शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लवलगायत गम्भीर भएर प्रस्तुति हेरिरहेका थिए । 

गायकद्वय मोहित र विद्रोही जब गीतको दोस्रो अन्तरामा पुगे, तब सबै शीर्ष नेताहरूको मुहार मलिन हुँदै गयो । सबै सोचमग्न बने । भावुक बन्दै गए । सायद गीतका यी शब्दले उनीहरूको हृदय क्षतविक्षत भएको थियो–

घर जले, बस्ती जले, 
आमाहरूको इज्जत लुटे, 
वीरहरूको नशाभित्र 
आक्रोशको ज्वाला दन्के,

त्यसपछि अर्को गीती अभिनय शुरु भयो । आवाजमा सूर्य बिक गुञ्जिन थालिन् भने अभिनयमा कम्ब्याट पोशाकसहित बन्दुक भिरेका केही कलाकार स्टेजमा देखिए । उनीहरूसँगै देखा परिन्, ढाडमा बच्चा बोकेकी दिपा रोक्का । ढाडमा बच्चा र हातमा बन्दुक बोकेर प्रचण्डहरूलाई साथ दिने जुझारु महिलाको प्रतिबिम्ब थिइन्, उनी । 

खुशीराम पाख्रिनको गीत थियो, ‘जित्नैपर्छ यो अन्तिम लडाइँ’ । 

फाटेका ओंठहरू, रोएका मनहरू
बसेका छन् नयाँ दिन पर्खेर,

गीतको यो अन्तरा गुञ्जिँदै गर्दा उपस्थित सबै रोए । रुनेहरूको अग्रपंक्तिमा थिए, प्रचण्ड । उनको आँखाबाट आँशु बगे, बगिरहे । एउटा रुमाल पूरै भिज्यो, तर बायाँ हातले चश्मा निकालेर दाहिने हातले पुछ्दासमेत आँशु रोकिएन । अवस्था यस्तो आयो कि, दुवै हातले आँखा छोपेर घोप्टो पर्नपर्‍यो । 

प्रचण्डसँगै सबै रोए । कसैले गलबन्दीले आँशु पुछे, त कसैले रुमालले । बाबुराम भट्टराई आँखा बन्द गरेर बसे । सायद उनी आँशुलाई आँखामै रोक्न चाहन्थे !

नेत्रविक्रम चन्द विप्लव स्तब्ध बने । एकोहोरो टोलाइरहे उनी । त्यसदिन चुनवाङमा सबै रोए, कसैको आँखा ओभानो रहेन । त्यसो त, यो घटना भएको १८/१९ वर्ष पूरा भइसकेको छ । यो बीचमा माओवादी बारम्बार सत्तामा पुग्यो, अहिले पनि सत्तामै छ । जनतामा नयाँ आशा जगाउने प्रचण्डहरूको आश्वासन हुन्छ । तर, गीत/संगीतको माध्यमले जनयुद्धलाई माथि उठाउने जनवादी कलाकारहरू भने अचेल जहाँको त्यहीँ छन्, सायद अझ बढी निराश छन् । 

आफ्नै अगाडि शीर्ष कमाण्डरहरू रोएको क्षण सम्झँदै सोही प्रस्तुतिका गायक विद्रोही सुनाउँछन्, ‘हामीले त उहाँहरू रुनुहुन्छ होला भनेर सोचेकै थिएनौँ, तर त्यतिबेलाको सिन नै त्यस्तो बन्यो ।’ 

जनताको महान् सपनालाई आफूहरूले गीतको माध्यमबाट संबोधन गर्न खोजेको उनी बताउँछन् । ‘चुनवाङ ओपेराको जुन उद्देश्य थियो, त्यहीअनुसार प्रस्तुति तयार पारेका थियौं,’ विद्रोही स्मरण गर्छन्, ‘क्रान्ति सफल हुँदैन भन्नेहरूलाई हामी चेतावनी दिन चाहन्थ्यौँ, उहाँहरू सायद हाम्रो आशय बुझेर रुनुभयो ।’

आफूहरूले चाहेको क्रान्ति र आजको अवस्थाबीच आकाश–पातालको भिन्नता रहेको उनको भनाइ छ । ‘हामीले चाहेको क्रान्ति अर्कै थियो’, उनले सुनाए, ‘अब हाम्रो सपना र बलिदानको कुनै अर्थ छैन ।’ आजसम्म पार्टीले तर्दै आएका टुटफुटका विभिन्न जंघारहरू सम्झँदा विद्रोही भावुक हुन्छन् । नोस्टाल्जिक हुँदै भन्छन्, ‘हाम्रो त्यो यात्रामा मलाई कहिँकतै लागेको हो कि पार्टीको नेतृत्वमा केही खराब प्रवृत्ति देखिन थाल्यो ।’ 

विद्रोही अहिले कुनै पात्रलाई तोकेर दोष दिन चाहन्नन् । बरु अब पार्टीमा बाँकी रहेका कमरेडहरूलाई जनयुद्धको इतिहास सुरक्षित राख्न उनको आग्रह छ । अर्का गायक मोहित पनि अहिले नेतृत्व पुँजीवादबाट ग्रसित बनेको बताउँछन् । आफ्नै अगाडि शीर्ष कमरेडहरू एकैचोटी रुँदा जनताको दुःखलाई गीतबाट प्रस्तुत गर्नमा सफल भएको महसुस हुन्छ उनलाई । त्यतिबेला सर्वहारासँग सँगै बसेर रुने कमरेडहरूमा अहिले परिवर्तन भएको देख्दा भने मोहितलाई अचम्म लाग्छ । भन्छन्, ‘हिजो जंगलमा एक्लाएक्लै हिँड्दा नडराउने कमरेडहरू अहिले सामान्य जनतासँग भेट्न पनि डराउँछन् ।’ 

हिजोको वैचारिकता अहिले पूर्णरूपमा स्खलित भइसकेको उनको ठम्याइ छ ।’हिजो भुुइँमा बसेर मीठो मसिनो खाँदा पुग्नेलाई अहिले थरीथरीका व्यञ्जनले पनि पुग्दैन,’ निरास हुँदै मोहितले भने । 

आज सत्ताको लागि दौडधुप गर्ने कमरेडहरूले कम्युनको अभ्यासलाई ध्वस्त पारिसकेको बताउँदै उनले भने, ‘त्यतिबेला त जनता नै सबैभन्दा ठूला थिए, तर अहिले उनीहरूलाई जनताको मनोदशा के छ भन्ने नै थाहा छैन ।’

पार्टीका शीर्ष कमाण्डरहरू धुरुधुरु रुँदा सामुन्नेमा बच्चा बोकेर अभिनय गरिरहेकी दिपा अहिले त्यो घटनालाई सम्झँदै भावुक हुन्छिन् । भन्छिन्, ‘उहाँहरू रुन थालेपछि वरिपरि सबै रुन थाले । त्यो देखेर मलाई पनि अभिनय गर्दागर्दै आँखाबाट आँशु आयो । तर आँशु नियन्त्रण गरेर प्रस्तुति सकाएँ ।’ 

दिपालाई ती पुराना दिन सम्झँदा अहिले कुनै दन्त्यकथाजस्तो लाग्छ । भन्छिन्, ‘त्यतिबेला मरे पनि जनताकै लागि शहीद भइन्छ होला, बाँचे क्रान्ति जितिन्छ भन्ने लागेको थियो ।’

जनताको लागि शहीद भएको भए पनि त्यसमा कुनै पश्चाताप नहुने उनले बताइन् । ‘त्यतिबेला सायद उमेर पनि सानै भएर होला’, दिपाले सुनाइन्, ‘कि खुलेर बाँचिन्छ, कि हाँसेर मरिन्छ भन्ने लाग्थ्यो ।’ 

जनताका लागि प्रचण्डहरू त्यही दिन अन्तिम पटक रोएको उनको अनुमान छ । उनी थप्छिन्, ‘त्यतिबेला प्रचण्ड कमरेडहरूको आँखाबाट बगेको आँशु अहिले बासी भइसक्यो, लाग्छ त्यही दिन कमरेडहरू जनताको लागि अन्तिम पटक रुनुभयो ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू