नक्साल ढुङ्गेधारा पुरानै स्वरुपमा, पानीको निकास रोकेका घरधनीलाई लाखौं जरिवाना

नक्साल ढुङ्गेधारा पुरानै स्वरुपमा, पानीको निकास रोकेका घरधनीलाई लाखौं जरिवाना

काठमाडौं महानगरपालिकाले नक्साल ढुङ्गेधाराको पुनर्निमाण गर्ने भएको छ । महानगरले नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा पुनःरुत्थानको काम अगाडि बढाएको जानकारी दिएको छ । 

ढुङ्गेधाराको पानीको निकास रोकेका तीन घरधनीलाई दुई लाख रुपैयाँको दरले जरिवाना तिराएपछि सोही रकमले ढुङ्गेधारा पुनःरुत्थानको काम शुरु गरिएको महानगरको भनाई छ ।

विगत ४० वर्षदेखि बन्द पानीको निकास खोलिएको महानगरले जनाएको छ । मेयर बालेन्द्र साहको सचिवालय सदस्य विनय शाक्यले निकाससम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए । उनका अनुसार अब मुहान खोज्ने र भौतिक पूर्वाधार निर्माणको काम गर्ने महानगरको योजना छ । 

‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई दुई लाख रुपैयाँका दरले जरिवाना तिराएर सोही रकमबाट निकास खोलिएको छ । पानीको निकाससम्बन्धी समस्या समाधान भयो । अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनःरुत्थान गर्ने हो’, उनले भने । महानगरले गत असोजदेखि ढुङ्गेधाराको पुनःरुत्थानका लागि अध्ययन थालेको थियो ।

टिप्पणीहरू