टाउकोमा डल्लो, फैजी हाकिमलाई खल्लो

टाउकोमा डल्लो, फैजी हाकिमलाई खल्लो

टाउकोमा डल्लो देखिँदा हाकिमहरू तानिँदैछन्, महालेखाले बेरुजु औंल्याउँदा अर्काे आपत छ । यो खबर हो, सशस्त्र प्रहरीको । ककनी र कुरिनटारमा सशस्त्र प्रहरीको रिक्रुट तालिम सञ्चालन गर्ने क्रममा भर्ना मापदण्डविपरितका तालिमे भेटिँदा तनाव भएको हो । केही तालिमेको टाउकोको पछाडि डल्लो देखिएको छ ।

जेठ ४ गते तालिमका निम्ति त्यहाँ छिरेकामध्ये सुर्खेत र प्रधान कार्यालयबाट छनौट भएका सिपाहीमा त्यस्तो समस्या देखियो । आँखैले देखिने त्रुटीसमेत नहेर्नुलाई लापरवाही हैन, अनियमितता गरेको रूपमा बुझ्ने गरिन्छ । त्यसैले सुर्खेतस्थित महेश्वरी बाहिनीअन्तर्गत कार्यरत एसपी प्रकाशकुमार सुवेदी र भर्ना छनोट शाखा प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी तिलकबहादुर खड्का अहिले तानिएका छन् । प्रधान कार्यालयस्थित मानवस्रोतका एआइजी सीपी गौतमको नेतृत्वमा छानबिन चलिरहेको छ ।

उता, सरकारको आर्थिक निर्देशिकाविपरित सशस्त्रले खरिद गरेको सवारी साधनलाई महालेखाको प्रतिवेदनले बेरुजु जनाएको छ । सशस्त्रले मालीस्थित मिशनका निम्ति केही सवारी साधनसहित ४०–४५ करोडका बन्दोबस्तीको सामान खरिद गरेको थियो । संयुक्त राष्ट्रसंघले सशस्त्र र नेपाली सेनासहित विश्वका विभिन्न मुलुकबाट खटिएको मिशन टोलीबाट १५ हजारको जनशक्ति कटौती गर्दा ती सामान खेर गए । माली मिशन फिर्ता भएपछि अर्को गएको छैन, त्यसैले ती सामान थन्किएर बसेका हुन् । त्यसभित्र एपिसी भने थिएन । सशस्त्रले सेनासँग एपिसी लिएर काम चलाउने गरेको छ ।

गत आर्थिक वर्षको बजेट भाषणमा स्पष्ट रूपमा कुनै पनि सवारी साधन खरिद गरिने छैन भनी लेखिएको थियो । तर, सशस्त्रले चुनावलाई ध्यानमा राख्दै ४५–५० वटा गाडी किन्यो । जसमा २५ करोड रूपैयाँ खर्च भएको थियो । सरकारमा शेरबहादुर देउवाको रजगज चलेको बेला उनका पिए भानु देउवाका बहिनी ज्वाइँ दीपेन्द्र कुँवर सशस्त्रको खरिद हेर्ने प्रबन्ध शाखामा छन् । यतिबेला सत्ता राजनीतिमा देउवा कमजोर हुँदा अर्थ मन्त्रालयसँग स्वीकृत नलिइकन गरिएको खरिदका कारण दीपेन्द्रलाई आपत परेको छ ।

चुनावका निम्ति आएको बजेटबाट बचेको रकमबाटै सशस्त्रले ८२ लाखमा एक वटा विद्युतीय गाडी पनि किनेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू