पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा कमब्याक ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने छनक देखाउनुभएको छ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीसँग हालैको एक अन्तर्वार्तामा भण्डारीले दिएको अभिव्यक्तिबाट यस्तो छनक मिलेको हो ।
‘तपाईं सक्रिय राजनीतिमा फर्किनुहुन्छ ?’ भन्ने प्रश्नमा भण्डारीले मैले भनिरहनुपर्छ र भन्ने जवाफ फर्काउनुभएको थियो । भण्डारी आफ्नो मातृ पार्टी एमालेभित्र पुरानै स्थितिमा फर्किने कोशिस भइरहेको र त्यसका निम्ति लबिङ पनि चलिरहेको बताइन्छ ।
हाल दोस्रो वरियताको नेताका रूपमा भए पनि सक्रिय राजनीतिमा फर्किने र वर्तमान अध्यक्ष ओलीपछि पार्टीको कमाण्ड सम्हाल्ने योजना रहेको एमालेका एक जना सचिवको दाबी छ । तर अहिले नै अध्यक्ष ओली उहाँलाई ल्याइहाल्ने पक्षमा नदेखिएको र आउँदो २० वर्षसम्म नेतृत्व आफैंले लिने, त्यसपछिका लागि अरुलाई तयार हुँदै गर भन्ने गरेको तिनै सचिवले बताए । दुई साताअघि एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाएर अध्यक्ष ओली दोस्रो वरीयतामा बस्नुभएको थियो ।
भण्डारीले एमालेको नेतृत्वमा दावेदारी प्रस्तुत गर्न मानसिक रुपमा तयारी गरेपछि अन्य नेताबीच मुख हेराहेर चल्न थालेको छ । राष्ट्रपति हुनुपूर्व भण्डारी एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो ।
टिप्पणीहरू