सरकारबारे शेखर- आए त्यत्तिकै आइहाल्छ, मरिहत्ते गर्दैनौँ

सरकारबारे शेखर- आए त्यत्तिकै आइहाल्छ, मरिहत्ते गर्दैनौँ

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टी सरकारमा जान मरिहत्ते गर्ने पक्षमा नरहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रतिपक्षीय भूमिकामा रहेको कांग्रेसले अहिले त्यसैलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । आफैँ प्रस्ताव आए सरकारमा जाने तर मरिमेटेर भने नलाग्ने कोइरालाको दाबी छ । 

राजनीतिक स्थीतरता विना मुलुकमा विकास र सुशासन प्राप्त नहुने भन्दै उनले अस्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्र र प्रदेशका ८ वटा सरकार डेढ वर्षे अवधिमा २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले गम्भीर ढंगले समीक्षा गर्नुपर्ने कोइरालाले बताए ।

‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । आठ वटा सरकार देखिरहनुभएको छ । सात वटा प्रदेशमा एउटा केन्द्रमा । आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ', चिन्ता जनाउँदै उनले भने, 'हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन ।'

राजनीतिक स्थिरता कायम गर्न कांग्रेसले सरकारमा जाने हतारो नगरेको जनाउँदै कोइरालाले प्रतिपक्षी भूमिकालाई नै बलियो बनाउने बताए । अरु पार्टीजस्तो जसरी पनि सरकारमा जाने पक्षमा कांग्रेस नरहेको उनले दोहोर्याए । 

'जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनौँ, देश यस्तै घच्घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छौँ विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ', कोइरालाले भनेका छन् ।

टिप्पणीहरू