चरित्र ठीक नहुँदा अन्ततः सबैथोक चैट्

चरित्र ठीक नहुँदा अन्ततः सबैथोक चैट्

जिजी उर्फ जोएना मेरी भ्यालेन्टिना लाम्ब्रनोको जन्म प्राचीन ग्रिसको बोस्फोरस नगरमा भयो । वर्तमान टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल नै त्यो बेलाको बोस्फोरस हो । उनी रोमानियाका सैनिक जर्नेल कोन्स्टान्टिन लाम्ब्रनोकी छोरी थिइन् । फ्रान्समा पढिन् र रोमानियाको राजधानी बुखारेष्टस्थित घर फर्किइन् । कुलिन घरानाकी सदस्यको नाताले उठबस उच्चपदस्थ व्यक्तिको परिवारसित हुन्थ्यो । अंग्रेजीमा पोख्त थिइन् भने चित्रकला,  गायन र पियानो बजाउन जान्दथिन् । त्यसबेला आमा युफ्रोसिन अल्काजसँगै पूर्वी रोमानियाको जसीमा बस्थिन् । उक्त अपार्ट्मेन्टमा जम्माजम्मी एउटै मात्र शयनकोठा थियो ।

सन् १९१७ मा रोमानियाका राजकुमार क्यारोल बिरामी परे र चाँडै निको बनाउन राजा फर्डिनान्डले जसीस्थित रिसोर्टमा पठाए । जस्तो आमा–बुबा उस्तै चरित्र थियो क्यारोलको । अर्थात् नामी प्लेब्वाइ थिए उनी । राजा फर्डिनाण्ड त महिलाप्रेमी थिए नै रानी मेरीले पनि धेरैसँग प्रेम गरिन् । ५७ वर्षको उमेर पुगिसक्दा पनि एक जना नवयुवक सैन्य अधिकृतलाई प्रेमजालमा फसाउन छाडिनन् । शुरुका दिनमा छोराको लागि केटी मिलाइदिने काम स्वयं महारानी मेरीले गर्थिन् । भविष्यमा राजा हुने योग परेका क्यारोल आफ्नो मुठ्ठीभन्दा बाहिर नजाउन् भन्ने हेतुले महारानी यसो गर्थिन् । क्यारोलको लागि युवतीहरू खुट्टाका जुत्ताजस्ता थिए,  लाइसकेपछि मिल्काइहाल्ने । छोरोको यो बानीबाट रानी खुशी नै हुन्थिन् । जनता पनि क्यारोलका यस्ता गतिविधिलाई नदेखेको जस्तो गर्थे,  किनभने उनीहरूले पहिलोपटक रोमानियामै जन्मेका र त्यहाँकै भाषा बोल्ने राजा पाउँदै थिए । त्यसैले क्यारोल सबैका प्रिय थिए । जनताले उनको यो रंगीन जीवनलाई राजकीय शक्तिको रूपमा लिन्थे । यद्यपि,  युवराजको पुरुषत्वको विषयलाई आपसी छलफलको विषय भने बनाउँथे ।

जसीको बसाइकै क्रममा जिजीसँग भेट भयो । क्यारोल २४ वर्षका थिए भने जिजी १९ की । जसी स्थानीय क्लबमा गीत गाएर र तास खेलेर आमालाई पाल्थिन् । उनी बुद्धिमान थिइन्,  आकर्षक र चम्किलो रूप थियो । त्यसबेला क्यारोल भने आमाको गतिविधिबाट दिक्दार थिए । जिजी र उनको परिवारलाई आमाले मन पराउँदिनन् भन्ने थाहा हुँदाहुँदै उनी जिजीलाई फकाउन थाले । राजा र रानी छोरा र जिजीबीचको प्रेमालापको खबर सुने एक्कासी क्रुद्ध बने । छोरोलाई सक्रिय सैन्य सेवामा लगाउने प्रस्ताव पेश गरे । तर,  क्यारोलले उल्टै आफूले पाएको सैनिक पद त्यागे र जिजीसित बिहे नै गर्न गइरहेको खबर पठाए । राजाले जिजीलाई नत्यागे पक्रने धम्की दिए । उक्त धम्कीलाई उनले वास्तै गरेनन् । बरु दुबै जना लुकेर हिँड्न थाले । निगरानी बढाएको चाल पाएपछि फरक फरक मार्ग हुँदै भाग्दै गरे । उनलाई विश्वास थियो कि उता आमाबाबुले मार्गबाट हटाउँदैनन् । आमा मेरी झन् त्यो उमेरमा कुलिन घरानाका पुरुष र सैनिक जवानलाई वासनाको शिकार बनाउँदै थिइन् ।

यसबीच क्यारोलले भागेर बिहे गर्ने निधो गरे र पानीजहाजमा बसेर कालासागर हुँदै दक्षिण युक्रेन पुगी त्यहीँको चर्चमा सम्पूर्ण विधिपूर्वक बिहे गरे । अनि राजाज्ञाको अवज्ञा गर्दै स्वदेश फर्के । राजाले देशद्रोही भन्दै छोरोलाई मार्ने आदेशसमेत जारी गरे तर रानीले त्यसलाई रद्द गर्न लगाइन् । यसको बाबजुद क्यारोलले पत्नी जिजीप्रति बफादारी प्रस्तुत गर्दै गद्दी त्याग्ने घोषणा गरे । छोरोलाई कसै गरे पनि गलाउन नसकेपछि राजाले क्यारोल र जिजीको बिहेलाई अवैध घोषणा गरिदिए । यसका लागि विधि पु¥याएर चर्चमै बिहे गरेको भए पनि राजाको सहमति बेगरको बिहेले मान्यता नपाउने फैसला अदालतबाट सुनाउन लगाए । यसपछि पनि क्यारोल पछि हटेनन् । उनले पुनः गद्दीको उत्तराधिकारी नबन्ने र जिजीलाई पत्नीको रूपमै स्वीकार्ने अडान दोहो¥याए । साथै, जिजीले जन्माउन लागेको छोरोको बाबु आफैँ भएको घोषणा गरे ।

क्यारोल सबै काम लोककथाको वीर पुरुषले गर्ने साहसिक कामजस्तै गर्दै थिए । प्रेमको लागि गद्दी त्याग्दै थिए तर रानी मेरी राजनीतिमा चतुर खेलाडी थिइन् ।  स्वार्थपूर्तिका लागि जे गर्न पनि पछि नहट्ने । उनलाई छोराको कमजोरी राम्रोसित थाहा थियो । क्यारोलमा वंशाणुगत ‘गुण’ थियो– स्त्रीका लागि जे पनि गर्न मरिमेट्ने । मेरीले यसै गुणबाट लाभ लिने अठोट गरिन् र बुखारेष्ट शहरका नामी बेश्याहरूलाई बोलाएर छोरासित सुत्न लगाइन् । दिनरात बेश्याहरूसँगै समय बिताउन बाध्य बनाइन् । क्यारोल अत्यन्त यौनकामी थिए, कसैसँग शारीरिक सम्बन्ध नबनाई बस्नै सक्दैनथे । त्यसमाथि जिजी गर्भवती थिइन्, उनी क्यारोललाई यौन सुख दिन अक्षम बन्दै गइरहेको समय थियो भने पेट फुल्दै गएका कारण शारीरिक आकर्षणमा पनि कमी देखिँदै थियो । त्यसमाथि स–सानो कुरामा रिसाउन थालेकी थिइन् ।

मेरीले यी सबै स्थितिबाट फाइदा उठाउँदै साँझ पर्नेबित्तिकै क्यारोललाई दिनहुँ ‘रमाइलो पार्टी’ को आयोजना गर्न लगाइन् । ती रात्रिकालीन कार्यक्रममा शहरका महँगा वेश्याहरूलाई बोलाउन लगाउँथिन् । जिजी क्यारोलको फेरिएको आनीबानी देखेर चकित थिइन् । लोग्ने बेफिक्रीसित अरू महिलासँग लहसिन थालेपछि मन रोयो । उनले आफ्नो पीडालाई रोक्नै सकिनन् । यो कुरोलाई लिएर ठाकठुक शुरु भयो । क्यारोल सम्हालिनु त परै जाओस् झन् हरेक रात एउटी वेश्यासँग सुत्न जान थाले । यो क्रम लामो समयसम्मै चल्यो । नतिजा,  आँधीबेरीको गतिमा प्रस्फुटन भएको उनीहरूको प्रेम र रोमाञ्चकारी दाम्पत्य जीवन छताछुल्ल भयो । प्रेम मरेतुल्य बन्यो । क्यारोल पत्नीले पाउनै लागेको सन्तान सुखलाई समेत नपर्खी जिजीबाट टाढिए । जब जिजीले छोरो पाइन् यो खबर पु¥याइन् तर क्यारोलको मन कठोर बनिसकेको थियो । उनले सुत्केरी स्वास्नी र भर्खर जन्मेको छोरोको मुख हेर्न जानसम्म पनि उचित ठानेनन् । मात्र एउटा सन्देश र फूलको गुच्छा पठाएर लोग्ने र बाबुको कर्तव्य पूरा गरे ।

क्यारोल आमाले बिछ्याएको जालमा नराम्रोसित फस्दै गए । आमाले आफू र जिजीलाई छुटाउन गर्दै आएको सम्पूर्ण षड्यन्त्रको पूर्ण जानकार हुँदाहुँदै चारीत्रिक रूपमा यति धेरै कमजोर बनिसकेका थिए कि चाहेर पनि आमाको आज्ञालाई नकार्ने हिम्मत गर्न सकेनन् । यसपछि भने क्यारोल एकहदसम्म नरम बने । राजारानीले छोरो कमजोर मनस्थितिमा पुगेको समयको फाइदा उठाउँदै बिहेको प्रस्ताव राखे । राजारानीले ग्रीस र डेनमार्ककी राजकुमारी हेलेनलाई बुहारीमा छनोट गरे । क्यारोलले पनि हेलेनलाई मन पराए । सन् १९२१ मा उनीहरूको बिहे भयो । अर्को वर्ष हेलेन छोरा मिसेलको आमा बनिन् । एउटा छोराको आमा–बाबु बनेपछि दुबैबीच एउटा सम्झौता भयो,  आपसमा शारीरिक सम्बन्ध नराख्ने र बिबाहेत्तर अरूसित सम्बन्ध बनाउँदै हिँड्न दुबै स्वतन्त्र हुने । सहमतिअनुरूप हेलेनले क्यारोललाई अरू युवतीसँग सम्बन्ध राख्न दिइन् । अब क्यारोलले अरू युवतीलाई दरबारमै ल्याएर अन्तरंग सम्बन्ध राख्न र कहिलेकाहीँ टाउटुको घरमा ब्याचलर पार्टी आयोजना गर्न थाले । टाउटु जलसैनिक क्याप्टेन थिए  र नामी प्लेब्वाइ । 

टाउटु उत्तरी रोमानियाको बिस्तृटामा थिए त्यस बखत । विश्वयात्रामा हिँड्नुअगाडि सबैसँग मिली छुट्टिन चाहन्थे । त्यसैले सन् १९२३ को एक साँझ क्यारोललगायत अन्य साथीलाई निम्तो गरे । उनी रमाइलो गर्न रुचाउँथे । रात्रिभोजमा सैनिक अधिकृत पनि सहभागी थिए । सोही कार्यक्रममा टाउटुले क्यारोलको परिचय माग्डा लुपेस्कुसित गराइदिए । माग्दा विवाह गरेर पनि लोग्नेसित सम्बन्धविच्छेद गरिसकेकी महिला थिइन् । माग्दा पछि क्यारोलको प्रेमिका बनिन् र सन् १९४७ मा दुबैले बिहे नै गरे । माग्दासित प्रेम गर्न थालेपछि राजाले उनलाई राजगद्दीको उत्तराधिकारबाट वञ्चित गरिदिए । जसकारण सन् १९२७ मा राजा फर्डिनाण्डको निधनपछि उनी होइन उनका छोरा (हेलेन तर्फका) मिसेल राजा बने । सन् १९३० मा बल्ल मिसेललाई हटाइ उनी राजा बन्न सफल बने । उनी सन् १९४० सम्म त्यहाँको राजा थिए ।

उता,  क्यारोलले छाडेपछि जिजी यता न उताको भइन् । यहाँसम्म कि पछि उनलाई देशमै बस्न दिइएन । छोरोलाई च्यापेर फ्रान्सतर्फ लागिन् । यद्यपि,  राजा क्यारोल र क्यारोलपछि त्यहाँको सरकारले फ्रान्समै उनका लागि घर किनिदियो । वार्षिक १ लाख १० हजार फ्रेन्च फ्रान्क भत्ता दिइयो । यसको बाबजुद उनको जीवनी दयनीय रह्यो । उनको निधन सन् १९५३ को मार्च ११ मा फ्रान्समै भयो । क्यारोलको निधन जिजी बितेको २५ औं दिन ४ अप्रिलमा भयो । स्मरणीय छ,  क्यारोलपछि उनैका पुत्र मिसेल पुनः राजा बने । उनी त्यहाँका अन्तिम राजा थिए । रोमानिया सन् १९४७ मा बल्ल जनगणतन्त्र बनेको हो ।
 

टिप्पणीहरू