राष्ट्रपति पुग्नुअगाडि नै राजदूत र नियोग उपप्रमुखबीच बोलचाल बन्द
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड भ्रमणमा हुनुहुन्छ । उहाँ जेनेभामा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्न अस्ति काठमाडौंबाट जानुभएको हो ।
हिजो उहाँले त्यहाँका समकक्षी एमहर्डसँग भेटवार्ता गर्नुभएको छ । स्विट्जरल्याण्डपछि राष्ट्रपति जर्मनी जाँदै हुनुहुन्छ । तर,जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्कासँग डेपुटी चिफ अफ मिसन सागरप्रसाद फुयाँल र लेखा हेर्ने थर्ड सेक्रेटरी चुमानसिंह केसीबीच लगभग बोलचाल बन्द भएको महिनौं बितिसक्यो ।
‘एकाउण्टेन्ट अर्थात थर्ड सेक्रेटरीसँग नबोली राजदूतलगायत कसैको पनि काम चल्दैन । बरु डिसिएम र राजदूतबीच एकाध महिना नबोले पनि काम चल्छ ।’
फुयाल र केसीबीच खासै समस्या नभए पनि राजदूत खड्कासँग उनीहरुको सामान्यतयाः भेटघाट र बोलचाल नहुने गरेको दूतावासका अन्य सहयोगी कर्मचारी र बर्लिनको नेपाली समुदायलेसमेत अनुभव गरेका छन् । तर,यसबीच राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा जाने कार्यक्रम तय भएपछि उनीहरुबीच नबोली नबोली कार्यालयको काम भइरहेको बताइन्छ ।
जर्मनीस्थित दूतावासको पछिल्लो अवस्थाबारे सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्रालय स्रोत भन्छ, ‘यसो खानपिनमा रातो मुख गर्नुभयो होला,भोलिपल्ट भएपछि कुरो मिल्यो होला नि !’ राजदूत खड्काद्वारा नेपालबाट लगिएकी सहयोगी कर्मचारीलाई सरकारले तोकिदिएको तलब र सुविधा नदिएको उजुरीपछि परिस्थिति अलिकति खल्बलिएको अवस्था छ ।
मन्त्रालयका एकजना सहसचिवले भने, ‘एकाउण्टेन्ट अर्थात थार्ड सेक्रेटरीसँग नबोली राजदूतलगायत कसैको पनि काम चल्दैन । बरु डिसिएम र राजदूतबीच एकाध महिना नबोले पनि काम चल्छ ।’
टिप्पणीहरू