डेंगुले महामारीको रुप लिनसक्ने संकेत

डेंगुले महामारीको रुप लिनसक्ने संकेत

काठमाडौं उपत्यकासहित मुलुकभर डेंगुको प्रकोप देखिन थालेको छ । पछिल्लो समय डेंगु संक्रमित बढ्दो क्रममा छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ वटा जिल्लामा डेंगु फैलिसकेको छ । एक हजार एक सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा भेटिएका छन् । बागमतीमा चार सय छ जनामा डेंगु संक्रमण देखिएको छ भने कोशीमा दुई सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा एक सय ३९ जना, गण्डकीमा एक सय ८७ जना, सुदूरपश्चिममा एक सय १८ जना, मधेशमा ३४ जना र कर्णालीमा १७ जना डेंगु संक्रमित भेटिएका छन् । 

१० जिल्लामा सबैभन्दा धेरै संक्रमित, ५ जिल्ला सुरक्षित 

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण (जुन १५ सम्मको) अनुसार काठमाडौंमा सबैभन्दा धेरै व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छ । राजधानीमा एक सय २२ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । त्यसपछि झापामा एक सय ११ जना संक्रमित भेटिएका छन् । 

चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, डोटीमा ३०, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, देशभरका पाँच जिल्ला भने डेंगुबाट सुरक्षित छन् । महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्लामा अहिलेसम्म डेंगु संक्रमित भेटिएका छैनन् । 

काठमाडौंमा महामारीको रुप लिनसक्ने 

यो वर्ष काठमाडौंमा डेंगुको जोखिम उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी यो वर्ष काठमाडौंमा डेंगुले महामारीको रुप लिन सक्ने बताउँछन् । विश्वभर डेंगु संक्रमणको प्रवृत्ति हेर्दा एक वर्ष तीव्र रुपमा संक्रमण फैलिएको ठाउँमा एक–दुई वर्षसम्म संक्रमण न्यून हुने गरेको छ । 

तर, पुनः संक्रमण हुँदा त्यस्ता ठाउँमा संक्रमणदर उच्च हुने मान्यता भएकोले यो वर्ष काठमाडौंमा डेंगु संक्रमण तुलनात्मक रुपमा बढ्न सक्ने प्रवक्ता बुढाथोकीले बताए । उनले डेंगु संक्रमितको उपचारको लागि मन्त्रालयले आवश्यक अस्पताल र जनशक्तिको व्यवस्था समेत गरिसकेको जानकारी दिए । ‘यो वर्ष तुलनात्मक रुपमा डेंगु संक्रमित बढ्न सक्ने हुँदा सोहीअनुरुप हामीले उपचारको लागि अस्पताल र आवश्यक जनशक्तिको तयारी गरिसकेका छौं,’ प्रवक्ता बुढाथोकीले भने । 

तर, संक्रमित अत्यधिक रुपमा बढेमा त्यस्तो अवस्थामा मन्त्रालयले पनि केही गर्न नसक्ने उनी बताउँछन् । ‘हामीले पनि उपलब्ध स्रोत र साधनले तयारी गर्ने हो । स्रोतले भ्याएसम्म नै गरिन्छ । तर, थेग्न नसक्ने संख्यामा बिरामीको चाप बढेमा मन्त्रालयले पनि केही गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले, अहिलेदेखि नै डेंगुबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई हाम्रो अनुरोध छ ।’

अन्य निकायको सहयोग आवश्यक : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी स्वास्थ्य मन्त्रालयको पहलमा मात्र डेंगु नियन्त्रण तथा रोकथाम हुन नसक्ने बताउँछन् । संक्रमितको उपचार मन्त्रालय एक्लैले गर्न सक्ने तर यसको नियन्त्रण मन्त्रालयको एकल प्रयासमा मात्र नहुने उनको ठहर छ । 

अगाडि भने, ‘डेंगुको जोखिम सँधै रहन्छ । यसका लागि सुरुदेखि नै आवश्यक काम थाल्नुपर्ने हुन्छ । तर, हाम्रो प्रयासमा मात्र यो सम्भव छैन । सबै निकायको साथ र सहयोग चाहिन्छ ।’ सरसफाईमा विशेष ध्यान पुर्याए मात्र डेंगु नियन्त्रण गर्न सकिने उल्लेख गर्दै प्रवक्ता बुढाथोकीले थपे, ‘यसमा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, वातावरण मन्त्रालय र स्थानीय तहहरुको पनि ठुलो भूमिका हुन्छ । तर, कुनै पनि निकायले यसप्रति चासो देखाएका छैनन् । जनताको स्वास्थ्यप्रति कोही पनि संवेदनशील छैनन् ।’

उनले डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग माग्दा समेत कसैबाट पनि राम्रो जवाफ नआएको बताए । ‘हामीले संघका सबै निकायलाई पत्रसहित अनुरोध गरेका थियौं । तर, कसैबाट पनि सोचेजस्तो प्रतिक्रिया आएन । जबसम्म जनताको स्वास्थ्यप्रति संघ, प्रदेश र स्थानीय तहहरु संवेदनशील हुँदैनन् । तबसम्म यस्ता महामारी नियन्त्रण हुन सक्दैन,’ उनको ठहर छ ।

प्रवक्ता बुढाथोकीले मन्त्रालयसँग डेंगु नियन्त्रणका लागि सम्बद्ध निकायलाई सहयोगका लागि अनुरोध गर्नुबाहेक अन्य कुनै विकल्प नरहेको पनि गुनासो गरे । उनले प्रदेश र स्थानीय तहहरुले अहिलेदेखि नै डेंगु रोकथामका लागि आवश्यक कदम नचाले यसले महामारीको रुप लिन सक्ने समेत बताए । 

‘हामीले रोकथामका आवश्यक कार्यक्रम सञ्चालन गर्न सबै प्रदेशमा बजेट पठाइसकेका छौं । अब प्रदेश र स्थानीय तहहरुले आफ्नो काम गर्नुपर्छ । रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अहिलेदेखि डेंगु रोकथाम कार्यक्रम सञ्चालन नगरे यसलाई पछि नियन्त्रण गर्न गाह्रो हुनेछ,’ उनले भने । 

स्थानीय तह जनतालाई सबैभन्दा नजिकबाट नियाल्ने सरकार समेत रहेकाले उनीहरुले प्रयास गरेमा हदैसमम डेंगु नियन्त्रण हुन सक्ने उनको विश्वास छ । ‘जनताको नजिक रहेको सरकार नै स्थानीय तह हो । उनीहरु नागरिकको घरमै पनि पुगेर डेंगुबाट जोगिन सचेत गराउन सक्छन् । सबै स्थानीय तह यसतर्फ लागेमा हदैसमम डेंगु नियन्त्रण हुन सक्छ,’ प्रवक्ता बुढाथोकी भन्छन् । 

के हो डेंगु ? 

‘एडिस एजिप्टी’ र ‘एल्बोपिक्टिस‘ जातको लामखुट्टेको टोकाईबाट मात्रै लाग्ने डेंगु अति तीव्र खाले विषाणुजन्य रोग पनि हो । नेपालमा भने ‘एडिस एजिप्टी’ जातका लामखुट्टे बढी पाइएको छ । यो लामखुट्टे अन्यभन्दा ठूलो आकारको हुन्छ । यसको रंग कालोसेतो छिर्केमिर्के हुन्छ । डेंगु फैलाउने यो लामखुट्टेले हाम्रो वरपर जमेको सङ्लो पानीमा फूल पार्छ । 

एउटा लामखुट्टेको जीवनकाल ३० दिनको हुन्छ । तर, एउटै लामखुट्टेले सो अवधिमा पाँच सयदेखि एक हजार वटासम्म फूल पार्ने गरेको अनुसन्धानबाट पुष्टि भएको हो । संक्रमित लामखुट्टेका सबै फूल संक्रमित नै हुन्छन् । 

यसको फूल पानीबिना पनि महिनौं दिनसम्म जीवित रहन सक्छ । यस्ता लामखुट्टेले सामान्यतयाः बिहानको उज्यालो र साँझमा टोक्ने गर्छ । नेपालमा पहिलो पटक सन् २००४ मा विदेशी नागरिकमा डेंगु संक्रमण भेटिएको थियो । 

त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा देखिएको डेंगुले केही वर्षअघि महामारीकै रुप लिएको थियो । सन् २०२२ मा मुलुकभर ५४ हजार ७८४ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला डेंगुका कारण ८८ जनाले ज्यान गुमाएका थिए । 

गत वर्ष पनि डेंगुका कारण २० जनाले ज्यान गुमाउनु परेको थियो । डेंगु संक्रमितको संख्या ५१ हजार दुई सय ४३ पुगेको थियो । नेपालमा डेंगुको जोखिम वर्षेभरि रहेपनि विशेषगरी वैशाखदेखि मंसिरसम्म यो रोगका बिरामीहरु देखा पर्छन् । 

डेंगु लागेपछि एक्कासी तीनदेखि पाँच दिनसम्म उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडी दुख्ने, अरुची हुने, पेट तथा आन्द्रामा गडबडी हुने र शरीरमा डाबरहरु देखिन्छन् । त्यस्तै, केही बिरामीको सुरुमै शरीरमा रातो बिमिरा पनि आउँछन् । शरीरमा डण्डीफोर देखा पर्छन् । र, ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने वा छालामुनि रक्तस्राव पनि हुने हुन्छ । 

कसरी जोगिने ? 

डेंगुबाट जोगिन घर वा टोल छेउछाउ पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन् । विविध प्रयोजनका लागि जम्मा गरेर राखिएको पानीका भाँडाहरुमा यस्ता लामखुट्टे जन्मने र हुर्कने भएकोले पानी जम्ने अवस्था नै आउन नदिनु प्रभावकारी उपाय हो ।

यस्ता लामखुट्टेले खुल्ला स्थानमा राखिएका गाडीका टायरहरु, प्लास्टिकका पानीका बोतल, प्लेटसहितको गमला, फुटेका भाँडाकुँडा तथा खपटाहरु, सिमेन्ट पोतिएका साना स्थानलगायत पानी जम्मा गरिएका वा भएका विभिन्न ठाउँमा फूल पार्ने गर्छन् । यसैले, जमेको पानीमा डेंगु संक्रमित लामखुट्टेका फूल रहन सक्ने हुँदा यस्ता ठाउँलाई सकेसम्म सुख्खा राख्नुपर्ने विशेषज्ञहरुको सुझाव छ ।

टिप्पणीहरू