राष्ट्रपतिको आग्रह कार्यान्वयन नभए के हुन्छ ?
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको नौ दिन लामो भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । सो क्रममा जर्मनीका राष्ट्रपतिसँगको भेटमा नेपाली विमान सेवा कम्पनीको उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्नुभएको थियोे ।
उहाँले भेटवार्तामा युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको परराष्ट्रसचिव सेवा लम्सालले जानकारी दिनुभएको छ । जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा काठमाडौंमा सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न समकक्षी डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा आग्रह गर्नुभएको थियोे ।
राष्ट्रपतिको स्विट्जरल्याण्ड भ्रमणको क्रममा दुई मुलुकबीच विकाससम्बन्धी आपसी सहयोग,उच्चस्तरीय भ्रमणको आदानप्रदान,सांस्कृतिक एवम् जनस्तर सम्बन्ध विस्तारलगायत दुईपक्षीय सम्बन्धका सबै पक्षमा छलफल भएको बताइएको छ । त्यसैगरी कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको सचिव लम्सालले जानकारी दिनुभयो ।
युरोपेली कमिसनले युरोपका २८ वटा मुलुकमा नेपाली वायुसेवा कम्पनीको उडानमा प्रतिबन्ध लगाएको एक दशक नाघिसकेको छ । सन् २०१३ को डिसेम्बरदेखि उक्त प्रतिबन्ध नेपाली आकाशमा भएका निरन्तरको हवाई दुर्घटनापछि लगाइएको हो । यस्तो अवस्थामा झन् उताको वायुसेवा कम्पनीलाई काठमाडौंसम्म उडान थाल्न राष्ट्रपतिले गर्नुभएको आग्रह कार्यान्वयन भए त सुनमा सुगन्ध, नभए के अर्थ लगाउनु ?
टिप्पणीहरू