हेरफेर हुने मन्त्री को–को होलान्

हेरफेर हुने मन्त्री को–को होलान्

बजेटप्रति एमालेको असन्तुष्टिकै बीच त्यसलाई पारित गराउने र राष्ट्रपति फर्किएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा छ । सिके राउतको जनमत पार्टीलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा सहभागी हुनका निम्ति एमाले अध्यक्ष केपी ओलीले सन्देश पठाउनुभएको छ ।

जबकि ओली सत्ता साझेदार दलको एउटा अंगमात्रै हो । उहाँले अर्को पार्टीले सम्हालिरहेको मन्त्रालय अर्कै पार्टीका निम्ति कसरी अफर गर्न सक्नुभयो ? विभिन्न कोणबाट प्रश्न उठेका छन् । परराष्ट्र अहिले माओवादीको भागमा छ र नारायणकाजी श्रेष्ठ त्यहाँको मन्त्री हुनुहुन्छ । सीधै प्रधानमन्त्रीले नारायणकाजीलाई हटाउँछु भन्न सक्ने अवस्था छैन । त्यसैले ओलीमार्फत सिके राउतलाई उक्त मन्त्रालयका लागि प्रस्ताव पठाइएको हुन सक्छ । यो घुमाउरो पाराले नारायणकाजीलाई मन्त्रालय छोड्न तयार भएर बस्नु भन्ने सन्देश पनि हो । 

स्रोतका अनुसार अहिलेको सरकारमा एमालेबाट गएका मन्त्री भर्खरैका हुन्, उनीहरू फेरिने कुरा भएन । रञ्जिता चौधरी श्रेष्ठका निम्ति पर्यटन छाड्दा भूमिसुधार हेर्ने बलराम अधिकारीलाई एमालेले फर्काउन सक्छ । मधेसको मुख्यमन्त्रीपछि संघीय सरकारमा सिके राउतलाई पनि सामेल गर्नुपर्ने अवस्थामा उनलाई परराष्ट्र दिने कुरा चलेको हो । र, फेरि बढी मन्त्री छन्, माओवादी केन्द्रका । पर्यटन मन्त्री हितबहादुर तामाङबाहेक सबै पुराना हुन् ।

अर्थमन्त्री वर्षमान पुनलाई ‘चलाउन’ सक्ने स्थिति छैन । ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रबाट नारायणकाजी र सञ्चारमन्त्री रेखा शर्मा फिर्ता हुने सम्भावना देखिन्छ । यसअघिकै पुनर्गठनमा रेखालाई फिर्ता गराएर त्यहाँ सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटालाई पठाउने तयारी थियो । नारायणकाजीलाई दोहोर्‍याउने कुरा थिएन । माधवको हकमा त राति ११ बजेसम्म भोलिपल्ट सरकारको प्रवक्ता हुने गरी सञ्चार मन्त्रालय सम्हाल्ने भनिएकोमा बिहानै कुरा बिग्रिसकेको थियो । रातारात नारायणकाजीले चलखेल गरेर परराष्ट्र हात पारेको भनिन्छ । 

यसबीच एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा उक्त पार्टीका ३० जना नेता–कार्यकर्ता अर्को हप्ता चीन जाने भएका छन् । त्यसमा भानुभक्त ढकाल, सुजिता शाक्यसहित सम्मिलित छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू