सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा पहिलो पटक सामूहिक छलफल
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ ले प्रदेश भित्रका कुनैपनि अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी, व्यवस्थापन तथा अन्य विषयमा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा उनले अस्पतालमा कुनै समस्या नहुने दाबी गरेका हुन् ।
औषधि, उपचार, कर्मचारी व्यवस्थापनको अभाव नहुने उल्लेख गर्दै उनले ओ एण्ड एम (सांगठनिक संरचना सर्वेक्षण) को विषय पनि प्राथमिकताका साथ अगाडि बढेको जानकारी दिए । सोसम्बन्धी फाइल मुख्यमन्त्री कार्यालयमा पठाइसकेकाले कुनै हालतमा पारित गराइने मन्त्रीको भनाई छ । त्यस्तै, उनले विपद्को पूर्वतयारीका लागि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन् ।
‘प्रदेशभित्रका सबै अस्पतालहरुले विपद् जोखिमको पूर्वतयारी गर्नुहोला । केही सहयोग चाहिएमा मन्त्रालयलाई भन्नुहोला । मन्त्रालयले आवश्यक सहयोग गर्नेछ’, उनले भने । कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दिनुपर्ने अतिरिक्त भत्ताको विषय पनि उठाए । सो विषय चाँडै समाधान हुने र चिकित्सकलाई प्रोत्साहन भत्ता दिने कुरामा आफू प्रतिबद्ध रहेको भाटले बताए ।
कार्यक्रममा सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टहरु सहभागी थिए । प्रदेशमा पहिलो पटक मन्त्रीले बोलाएर सामूहिक छलफल गरिएको सहभागीहरुले बताए ।
टिप्पणीहरू