बीपी र मदनको नाममा पैसा नपाएपछि नगरसभा रोकेको आरोप

बीपी र मदनको नाममा पैसा नपाएपछि नगरसभा रोकेको आरोप

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यसूचीसहित बोलाइएको काठमाडौँ महानगरको नगरसभा बस्दै नबसी स्थगित भएको छ । मेयर बालेन्द्र (बालेन) साह र वडाअध्यक्षहरूबीचको विवादले नगरसभा रोकिएको हो । 

मेयर बालेन्द्र (बालेन) साहले कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफूले भनेको कार्यक्रम राख्न नपाएपछि नगरसभा बैठक अवरुद्ध पारेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले बीपी कोइराला र मदन भण्डारीका नाममा करोडौंको कार्यक्रम हाल्न नपाएपछि नगरसभा रोकिएको दाबी गरे । 

तर, आफूले चार शहीदको नाममा कार्यक्रम राखौँ भन्दा कांग्रेस, एमालेका जनप्रतिनिधिले नमानेको बालेन्द्रको आरोप छ । 

'एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो, मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ', बालेनले भनेका छन्, 'नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमाले नेताहरूको योगदान धेरै देख्नुभयो होला, त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।'

यसअघि असार १० गते बसेको नगरसभाको बैठकमा पनि विवाद चर्किएपछि नीति तथा कार्यक्रम नै पारित नगरि बजेट प्रस्तुत गरिएको थियो । त्यसबेला मेयरले पेस गरेको नीति तथा कार्यक्रममा नगरसभा सदस्यहरुले २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए । ती संशोधन प्रस्तावमा आज छलफल हुने तालिका थियो ।

काठमाडौँका वडाध्यक्षहरुले मेयर बालेन्द्रको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

टिप्पणीहरू