साथीहरुकै रिसले बजेटजति स्वाट्टै

साथीहरुकै रिसले बजेटजति स्वाट्टै

एमाले मकवानपुरमा संस्थापन पक्ष भनिएको केपी ओली निकट टिमले हार खाएपछि त्यसको असर बागमती प्रदेश सरकारको योजना वितरणमा देखिएको छ । कार्यकर्ताहरूले चुनाव हारेको झोँकमा मन्त्रीहरूले धमाधम योजना काटिदिएको बताउने गरेका छन् । 

दोस्रोपटक सरकारमा गएका खानेपानी तथा सरसफाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीसम्बन्धी योजना धमाधम कटौती गरी कार्यकर्ताको मन दुखाएको आरोप छ । मकवानपुर नेतृत्वमा ल्याउनको र आफूखुशी चलखेल गर्नका लागि केही समयअघि मात्रै फ्रन्टलाइनमा देखिएका इन्द्रमान स्याङ्तानलाई अघि बढाएर मन्त्री श्रेष्ठको टिमले होमवर्क गरेको थियो ।

मन्त्री एवं निवर्तमान जिल्ला अध्यक्ष त देखिने पात्र मात्र थिए, उनीभन्दामाथि केपी ओलीका खास मानिएका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नै स्याङ्तानलाई अध्यक्ष बनाउन पाए उनैको काँधमा बन्दुक राखेर इतर गुटलाई ध्वस्त बनाउने ध्याउन्नमा थिए । तर, त्यो योजनामा जब निवर्तमान उपाध्यक्ष लालबहादुर थापा तगारो भएर उभिए, सपना सबै चकनाचुर भयो । एकै टिम भनिएका थापा र स्याङ्तानको लडाइँका कारण नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छाडेर आएका श्रीधर पोखरेल एकाएक अध्यक्ष बने । उनलाई केदार न्यौपाने, कृष्ण दाहालको टिमले जुरुक्कै बोकेर जितायो । 

यसरी ओली टिम मकवानपुरमा चकनाचुर भएपछि मन्त्री श्रेष्ठले गाउँ गाउँमा गएर बाचा गरेका योजना धमाधम कटौती गरी गुटका खास मान्छेलाई मात्रै हेरेको आरोप छ । खासगरी लालबहादुर थापाको गृहपालिका राक्सिराङ र पश्चिम मकवानपुरका मनहरी, कैलाशलगायत ठाउँका अधिकांश योजना मन्त्री श्रेष्ठले कटाएको स्रोतको दाबी छ ।

लालबहादुरलाई मतदान गर्नेहरूलाई नदिने भन्दै उनले गोप्य रूपमा योजनाहरूको सूचि बनाएर धमाधम काटिदिएपछि एमालेजनले फेसबुकमार्फत श्रेष्ठलाई ‘पद, पावर र पैसा सँधै रहँदैन, हेक्का रहोस्’ भन्दै स्टाटस लेखेका छन् । स्मरणीय त के छ भने आफ्नै जिल्लाका मन्त्री श्रेष्ठलाई भेटेर केही योजनाबारे सिफारिस गरौँ भनी प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहका स्वकीय सचिवसहित राप्रपाका जिल्ला र हेटौँडा उपमहानगरका पदाधिकारीहरू मन्त्रालय जाँदा उनले ‘तुरुन्तै निस्किहाल्नु’ भनेर एकछिन पनि बस्न नदिएको र कुरा नसुनेको राप्रपाका युवाहरूले बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर पुनः एमाले भएपछि एकालाल श्रेष्ठलाई बालकोटले जिल्ला अध्यक्ष बनाएको थियो । त्यसपछि आयोजित जिल्ला अधिवेशनमा पनि चुनाव भएमा सिनियर नेता बद्री लम्सालले जित्ने डरले रातारात सूचना टाँसी श्रेष्ठलाई नै स्वतः अध्यक्ष घोषणा गरिएको थियो । अहिले भएको जिल्ला अधिवेशनमा भने संसदीय ठाउँमा रहेकाले पार्टीको कार्यकारी जिम्मेवारी लिन नपाउने नियमका कारण श्रेष्ठ साइड लागेका हुन् । उनी हेटौँडाका लोकप्रिय कांग्रेस नेता आनन्द पराजुलीलाई पराजित गरी प्रदेश सांसद भएका थिए । 

- शिवकुमार काशी

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू