छोरी पढाउने गुरुआमा त्यसपछि प्रधानमन्त्रीकी पियारी

छोरी पढाउने गुरुआमा त्यसपछि प्रधानमन्त्रीकी पियारी

डेबिड एल. जर्ज वेल्समा जन्मेका ब्रिटेनका एक मात्र प्रधानमन्त्री । प्रथम विश्वयुद्धकै दौरान प्रधानमन्त्री बनेका । सन् १९१६ देखि १९२२ सम्म सरकार चलाएका उनी लिबरल पार्टीको तर्फबाट अन्तिम प्रधानमन्त्री बनेका । सरकारको नेतृत्व गर्नुअगाडि हतियार र युद्धमन्त्री थिए । आस्थावान इसाइ । आइतबार लण्डनस्थित चर्चमा हुने प्रार्थनासभामा सामेल हुन नबिर्सने । भाषणबाज । बोलाइमा सम्मोहन । सन् १९११ मार्च २१ आइतबारको दिन प्रार्थना सकेपछि पादरीले बोल्न लगाए । त्यसबखत उनी वित्तमन्त्री थिए । लामो र वजनदार भाषण गरे । चर्चमा उपस्थित । सबैले भाषण मन पराए । ४८ वर्षीय जर्जको भाषण सुन्ने र मन पराउनेमा एक जना फ्रान्सिस स्टिवेन्सन पनि थिइन् । पहिलो भाषण सुनेर यति धेरै प्रभावित भइन् कि ‘भेट्न पाए हुन्थ्यो’ भन्ने लाग्यो । तर, आशा थिएन, किनकि उनी साधारण स्कूलमा पढाउने शिक्षिका थिइन् भने जर्ज लिबरल पार्टीका नेता अनि मन्त्री । उनी त्यसबखत २२ वर्षकी थिइन् ।

तर, संयोग चाँडै जुर्‍यो । स्कूलमा गर्मीको बिदा हुन गइरहेको थियो । फ्रान्सिस बिदाको सदुपयोग गर्दै कतै घुम्न जाने योजना बुन्दै थिइन् । यसैबीच, उनले पढाउने गरेको विम्वल्डन गल्र्स स्कूलकी प्रधानाध्यापिका श्रीमती वुडहाउसले उनलाई आफ्नो कक्षमा बोलाइन् र भनिन्, ‘बित्तमन्त्री जर्ज छोरी मेगानको कमजोर पढाइप्रति निकै चिन्तित छन् र घरमै आएर पढाउन आउने एकजना शिक्षिकाको ब्यवस्था मिलाउने जिम्मा मलाई दिएका छन् । मैले यो जिम्मा एक जना शिक्षिकालाई दिइसकेको थिएँ, तर उनले अन्तै पढाउने काम पाइन् । मेरो आग्रह छ, तिमीले यो जिम्मेवारी उठाउनु । तिम्रो उत्तरको प्रतीक्षामा छु ।’

फ्रान्सिस प्रिन्सिपलको कुरो मन्त्रमुग्ध भई सुन्दै थिइन् । लाग्यो– ढुंगा खोज्दा देउता मिल्दै छ । एकछिन पनि बिलम्ब नगरी ‘हुन्छ’ भनिदिइन् । भोलिपल्टै प्रिन्सिपलको पत्र बोकेर मन्त्री जर्जको सरकारी आवासमा पुगिन् । र, दिउँसोको खाना त्यहीँ खाइन् । लञ्चको लागि महान्यायाधिवक्ता सर रुफस इसाक्स पनि पुगेका थिए । उनी परम मित्र थिए, त्यसैकारण पछि जब जर्ज प्रधानमन्त्री बने इसाक्सलाई ‘अर्ल’ बनाइदिए । पछि इसाक्स प्रधानन्यायाधीशसम्म बने । फ्रान्सिस छेउमै बसेर गफ सुन्दै थिइन् । उनीहरू बीचबीचमा ठुल्ठूलो स्वर निकालेर हाँस्दै पनि थिए । फ्रान्सिसले वेल्सको क्रिस्मेथस्थित जर्जको घरमै बसेर गर्मीको बिदाभरि मेगानलाई पढाउनुपर्ने भयो । त्यसैले सोही साँझ उनलाई क्रिस्मेथ लगियो । जर्जकी श्रीमती मार्गरेट ओवेनले स्वागत गरिन् । २ दिन परिवारसित घुलमिल हुन समय मागिन् । तेश्रो दिनदेखि पढाइ शुरु गरिन् ।

यसबीच गृष्मकालीन संसदको बैठक सकिएकोले जर्ज पनि क्रिस्मेथ पुगे । उनको आगमनसँगै घरको वातावरणमा रौनक थपियो । केही दिनपछि नै वेल्सका प्रख्यात कलाकार विलियम्स जर्जको तस्बिर तयार पार्न त्यहाँ पुगे । पोर्टेट तयार नहुञ्जेल एउटै मुद्रामा बसिराख्न निकै गाह्रो भइरह्यो । यो देखेर मार्गरेटले जर्जलाई कुराकानीमा अल्झाइराख्ने जिम्मेवारी फ्रान्सिसलाई सुम्पिइन् । यो क्षण नै दुबैलाई नजिक्याउने अवसर सावित भयो । जर्ज घुमघाम गर्न र पिकनिक मनाउन जान औधी मन पराउँथे । प्रायः सबैलाई लिएर जान्थे । फ्रान्सिस पनि हुन्थिन् । जर्ज ४८ वर्षका भए पनि उनमा तरुण जोश र चञ्चल स्वभाव थियो । पौडी खेल्दै नदी वारपार गर्थे, रुख चढ्थे, सुकेको दाउरा बटुलेर चुलो फुक्थे । लाग्थ्यो उनमा अर्थमन्त्रीको जिम्मेवारी नै छैन, केटाकेटी जस्तै उछलकुद गरिबस्थे । परिवार र साथीभाइसँग रमाइलो गर्दागर्दै बिदा सकिएको चालै पाएनन् । अब स्कूलहरू खुल्न थाले । छोरी मेगानलाई स्कूल पु¥याउन र लिन जर्ज आफैँ जान्थे । बिदाइ गर्न फ्रान्सिस बाहिरसम्म पुग्थिन् । जर्ज उनलाई घर आउन निम्तो दिइरहन्थे । कहिलेकाहीँ कहिले के कहिले के लेख्ने जिम्मा पनि दिन्थे । जर्जको यो रवैयाले दुबै जनाबीच भेटघाटको अवसर मिलिरह्यो । साथै, आइतबार आउनेबित्तिकै जर्ज साँझ सँगै चिया पिउन निम्तो दिन्थे । फ्रान्सिसलगायत सबैजना चिया पिउन बाहिर जान्थे । फर्कंदा बाटोमै खाने कुरा किन्थे किनभने त्यो दिन नोकरहरूको पनि बिदा हुन्थ्यो । बेलुकी सबै बसेर भोजन गर्थे । नाचगान र रमाइलो गफ हुन्थ्यो ।

यसबीच कुन्नि के भयो, फ्रान्सिसलाई पढाउने काममा वाक्क लाग्न थाल्यो । अरु कुनै नोकरी गर्न पाए हुन्थ्यो भन्ने सोच बनाइन् । इसाईहरूको ठूलो पर्व इस्टर डे नजिक आउँदै गर्दा एक दिन जर्जले भने, ‘तिमीलाई फुर्सद छ भने भूमि व्यवस्थासम्बन्धी एउटा फ्रेञ्च भाषाको पुस्तकको सार अंग्रेजीमा अनुवाद गरिदिनु । फ्रान्सिसले कसरी ‘नाइँ’ भन्न सक्नु ! हुन्छ भनिन् र इस्टरको बिदामा उक्त काम गरिदिइन् । त्यसबखत संसदको बैठकमा हुने बहस सुन्न जर्जले बोलाउन थाले । फ्रान्सिस दर्शकदीर्घामा बसेर संसदको कारवाही हेर्थिन् अनि जर्जले कागजको सानो चिर्कटोमा सन्देश लेखेर उनलाई आफ्नो कक्षमा बोलाउँथे । कक्षमा दुबैजना घण्टौं गफ गर्थे अनि घुम्दै रेष्टुराँ पुग्थे । अनि फ्रान्सिसलाई घरमा पुर्‍याएर फर्कन्थे । यथार्थमा जर्ज फ्रान्सिसलाई आफ्नो सचिव बनाउन चाहन्थे र तारतम्य मिलाउँदै थिए । फ्रान्सिस पनि सधैँ जर्जको सामीप्यमा बस्न चाहन्थिन् । उनले दिएको राजीनामा स्कूलले स्वीकृत गरिसकेको थिएन । एक दिन मौका मिलाएर जर्जले आफ्नो सचिव बन्न प्रस्ताव राखे । यतिञ्जेलसम्ममा दुबैजना निकै नजिक पुगिसकेका थिए ।

जर्ज न पत्नीसित सम्बन्धविच्छेद गर्न चाहन्थे न त, एउटी स्त्रीको कारण आफ्नो राजनीतिक क्यारियर र देशको भविष्यलाई अन्धकारमा धकेल्न सक्थे ।  यो कुरा उनले सांकेतिक भाषामा फ्रान्सिसलाई व्यक्त गरे पनि । फ्रान्सिस जर्जको सामीप्यमा उठबस गर्न चाहन्थिन् नै तैपनि उनैको सचिव बन्न अलि अप्ठेरो मानिन् । केही दिनको समय मागिन् र यसका लागि जर्जदेखि टाढा बस्न स्कटलैण्डतर्फ लागिन् । स्कटलैण्डमा एक जना युवकसित भेट भयो । ती युवक उच्च सरकारी अधिकृत थिए, प्रतिभाशाली अनि संगीतप्रेमी । यसको बावजुद फ्रान्सिस यसपालि अलिकति पनि ती युवकप्रति आकर्षित भइनन् जबकि पहिला पहिलाको भेटमा आत्मीयता हुन्थ्यो । उनी आफूमा आएको यो परिवर्तनबाट तीनछक्क परिन् र जर्जसितको सामिप्य र उनको प्रेमिल ब्यवहारमा अभ्यस्त भइसकेकोले यसो भएको हुन सक्ने निश्कर्षमा पुगिन् । जर्जको सचिव बन्ने कि नबन्ने भन्ने दोधार हटाउनै सकिनन् । के गर्ने भन्ने सल्लाह माग्ने हेतुले जर्जको नाउँमा पत्र लेखिन् । उत्तर छिट्टै आयो । जर्जको सल्लाह थियो– तिमीलाई जे ठीक लाग्छ त्यही गर । म तिम्रो मार्गमा बाधक बन्दिन ।

यसैबीच, जर्जको अर्को पत्र प्राप्त गरिन्, ‘यहाँ ठूलो घटना घटिरहेको छ, मलाई तिम्रो आवश्यकता भयो ।’ पत्र हातमा लाग्नेबित्तिकै लण्डनतर्फ हान्निइन् । परममित्र लार्द रिडिङको सल्लाहमा जर्जले एउटा कम्पनीको शेयर खरिद गरेका थिए । यसै विषयलाई लिएर विपक्षीहरूले हंगामा मच्चाएका रहेछन् । यसर्थ जर्ज मानसिक तनावमा थिए । फ्रान्सिसको उपस्थिति मात्रले पनि तनाव कम भएको महसुस गरे । सन् १९१२ सम्म आइपुग्दानपुदै फ्रान्सिसले आफ्नो सम्पूर्ण जीवन जर्जकै लागि समर्पण गर्ने निधो गरिन् । यो कुरा आमालाई पनि सुनाइन् । आमाचाहिँले छोरीको निर्णयको चर्को विरोध गरिन् र अपशब्दसमेत बोलिन् तर निर्णयमा फ्रान्सिस अडिग रहिन् । जर्जकोमा पुगिन् र सचिव बन्न तयार भएको निर्णय सुनाइन् । यसबीच सन् १९१६ मा जर्ज प्रधानमन्त्री बने भने फ्रान्सिस प्रधानमन्त्रीकी निजी सचिव । त्यतिञ्जेलसम्म ब्रिटेनका जनताले फ्रान्सिस प्रधानमन्त्रीको निजी सचिव मात्र होइन, उनकी ‘राधा पियारी’ पनि हुन् भन्ने थाहा पाइसकेका थिए । अर्थात् जर्ज र फ्रान्सिसको सम्बन्ध ‘ओपन सिक्रेट’ बन्न पुगेको थियो ।

(बाँकी अर्को अंकमा...)

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू