नयाँ सरकारवारे ओलीको यो भनाई आफैलाई गलपासो
नेपाली काँग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा रहेका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई आफ्नै पुरानो बोली भारी पर्नसक्ने देखिएको छ ।
यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाए धारा ७६ को उपधारा २ कै अर्को सरकार गठन हुने कि उपधारा ३ मा जाने भन्ने बहस चलिरहेको छ । कांग्रेस र एमालेसहित कतिपयले ७६ (२) कै सरकार गठन हुने दाबी गरिरहँदा माओवादी लगायतले उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने जिकिर लिइरहेका छन् ।
'दल, कानुनविद,नागरिक समाज र आमजनता समेत दुई कित्तामा विभाजित भैरहेका बेला ओलीले भने केही महिनाअघि मात्र ७६ (२) को सरकार विश्वासको मतमा असफल भए ३ मा जाने प्रष्ट मत राखेको पाइएको छ'
सरकार गठनको संवैधानिक प्रावधानलाई लिएर राजनीतिक दल, कानुनविद,नागरिक समाज र आमजनता समेत दुई कित्तामा विभाजित भैरहेका बेला ओलीले भने केही महिनाअघि मात्र ७६ (२) को सरकार विश्वासको मतमा असफल भए ३ मा जाने प्रष्ट मत राखेको पाइएको छ । गत फागुनमा माओवादीसँग सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको सन्दर्भमा ओलीको उक्त अभिव्यक्ति आएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिने अघिल्लो दिन पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो- उहाँले भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर माग्नु हुनेछ । उहाँमाथि हामीले विश्वास छैन भन्दा, भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ र, असफल हुनेबित्तिक्कै राष्ट्रपतिले प्रमुख पार्टीको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ ।
त्यसरी बन्ने अल्पमतको सरकार दृष्टिकोण र संकल्पबिहीन हुने भएकाले त्यसलाई रोक्न पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने ओलीको तर्क थियो । त्यस्तो सरकार गठन हुन सक्ने स्थितिलाई रोक्न पनि विश्वासको मत दिनुपर्ने भन्दै उहाँले आफ्ना सांसदहरुलाई उर्दी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
टिप्पणीहरू