फेरि जाग्यो समाजवादी मोर्चा
जसपा नेपाल फुटेपछि ‘अलपत्र’ परेको समाजवादी मोर्चा फेरि क्रियाशील हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
मोर्चालाई पुनर्गठन गरेर सक्रिय बनाउनेबारे आजको छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ गरेको र नेताहरुले त्यसमाथि धारणा राखेको बताइएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेका थिए । तर, पछिल्लो समय जसपा मोर्चाबाट बाहिरिएको छ भने महेन्द्रराय यादवको नेपाल समाजवादी पार्टी सामेल भएको छ । आगामी बैठकले मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने आजको बैठकले निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरु सहभागी थिए ।
टिप्पणीहरू