केही दिनमै मन्त्रीहरुलाई कुदाइने

केही दिनमै मन्त्रीहरुलाई कुदाइने

साउनमा शपथ लिएर पुल्चोकस्थित क्वार्टरमा सर्ने मन्त्रीहरूले आगामी दशैं पनि त्यहाँ मान्न नपाउने हिसाब किताब निकालिँदैछ । शहरी विकास मन्त्रालयका अनुसार आगामी असोजभित्रै मन्त्रीहरूलाई भैंसेपाटीमा सार्नेगरी द्रुत गतिमा काम भैरहेको छ । मन्त्रीहरूलाई पुल्चोकबाट सारेपछि रिक्त क्वार्टरलाई यसअघि विदेशी पाहुना आउँदा बस्ने राजकीय अतिथि गृह बनाउने भनिए पनि सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई उपलव्ध गराउने तयारी चल्दै छ । 

पुल्चोकमा १९ वटा मात्र ब्लक छन् । तीमध्ये १४ पुराना ०२८ सालमा र बाँकी ५ वटा ०५४ सालमा बनेका हुन् । सो ब्लकमा नअटेका प्रचण्ड सरकारका वन र स्वास्थ्यमन्त्री भैंसेपाटीकै क्वार्टरमा बस्दै आएका थिए । झण्डै १ अर्ब ५ करोड रुपैयाँको लागतमा भैँसेपाटीमा क्वार्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १ सय ४९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्वार्टरमा उपसभामुख र उपाध्यक्ष तत्काल सर्दैछन् ।  

तीन वर्षअघि सर्वाेच्चको परमादेशबाट केपी ओलीलाई बालकोट पुर्‍याएको साइत पारेर प्रचण्डले विश्वासको मत लिँदै र सोही दिन राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे भैंसेपाटी सर्दै हुनुहुन्छ । यस्तै, इन्दिरा रानामगरको साउन पहिलो साता भैंसेपाटी सर्ने तयारी छ । उता, भिभीआइपीहरूबाटै क्वार्टरका किस्तीदेखि बहुमूल्य सामग्री चोरिँदा कर्मचारी आजित छन् । संघीय संसद सचिवालय व्यवस्थापन कार्यालयले पुल्चोकमा मन्त्रीहरुका लागि गलैंचा, पर्दा, सोफा सिरकदेखि वासिङ मेसिन, आइरन, इन्भर्टर, गिजर, स्ट्याण्ड पंखा, ग्यास, युरोगार्ड, माइक्रो ओभन, कन्भर्टर, नेटवर्किङ र्‍याक, माइक्रो फोन, मिक्स्चर, ट्रेड मिल, दराज, पलङ, लोबेड, कुर्सी, सोफासेटलगायत सरसामग्री उपलब्ध गराउँदै आएको छ । विशिष्ट पदाधिकारीले माग गर्नेबित्तिकै सामग्री उपलब्ध गराउन व्यवस्थापन कार्यालयको पुल्चोकमा मन्त्री निवास एकाइ कार्यालय खडा छ । तर कतिपय विशिष्टले सरकारी निवास छाड्ने बेला अधिकांश सामान उठाएर लैजाँदा कर्मचारी हत्तु छन् । 

एक जना मन्त्री परिवर्तन हुँदा उसको क्वार्टरमा मात्र कम्तीमा पाँचदेखि आठ लाखसम्म खर्च हुने हिसाब छ । मन्त्री फेरिएपछि क्वार्टरमा रंङ्गरोगन गर्नुपर्‍यो । पुराना मन्त्रीले चलाएका डाडु, पन्यु, सिरक, डस्नासम्म फेर्नैपर्‍यो । अघिल्लो पटक रघुवीर महासेठ भौतिकमन्त्री भएर क्वार्टरमा सर्दा रंगरोगनकै लागि ६ लाख खर्च भएको थियो । डाडु, पन्यु, थाल, बटुकादेखि पर्दा, सिरक, डस्ना, तन्ना फेर्दा एकदेखि दुई लाख खर्च थपिन्छ । यसरी मन्त्री क्वार्टरको रेखदेख र सामानका लागि मात्र वार्षिक १३ करोड हाराहारी बजेट खर्च हुँदै आएको छ । यता सरकारले विशिष्ट व्यक्ति (भिआइपी) र अति विशिष्ट व्यक्ति (भिभिआइपी)का लागि आवास बनाउँदा बितेको चार वर्षमा राज्यकोषबाट पौनै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिक सजावटमा २ अर्ब ८९ करोड ६७ लाख २६ हजार रुपैयाँ र परामर्शमा ३ करोड ५१ लाख १८ हजार रुपैयाँको लागेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू