मन्त्री बन्ने दौडमा पति पत्नी नै बूढानीलकण्ठ

मन्त्री बन्ने दौडमा पति पत्नी नै बूढानीलकण्ठ
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा जाने तरखरमा रहेको नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । सरकार गठनको औपचारिक प्रक्रिया शुरु हुनै लाग्दा मन्त्री खाने रहरमा रहेकाहरु विभिन्न पक्षीय भेटघाट र दौडादौडमा छन् । 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेसमा सभापति शेरबहादुर देउवाबाहेक सबै मन्त्रीको आकांक्षी रहेको बताइन्छ । उपसभापति र महामन्त्रीहरु सके आफैँ सरकारमा नेतृत्व गरेर जाने, नभए आफ्नो पक्षका सांसदलाई मन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन् । 

यसैबीच नेता प्रकाशमान सिंहले पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जाने चाहना व्यक्त गरेका छन् । भर्खरै दिल्लीबाट उपचार गराएर फर्किएका उनले हिजो दिउँसो सभापति देउवालाई भेटेर मन्त्रीको आकांक्षा राखेको बुझिएको छ । 

श्रीमती सृजनालाई लिएर बूढानिलकण्ठ पुगेका नेता सिंहले देउवा दम्पत्तिसँग लामै कुराकानी गरेको र त्यसबीच व्यक्तिगत सम्बन्धदेखि सरकारबारे खुलेर छलफल भएको कांग्रेस स्रोतले जनाएको छ । बताइएअनुसार शुरुमा देउवासँग चिया गफ गरेका सिंहले त्यसपछि सृजनासहित आरजूलाई भेटेका थिए । 

त्यसक्रममा उनले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताउँदै भूमिका बाँधेर ओलीसँग भएको सहमतिको बारेमा चासो राखे । एमाले-माओवादीको सत्ता गठबन्धन भत्काउन सफल भएको भन्दै उनले ठट्याली शैलीमा देउवालाई बधाईसमेत दिए ।

नेता सिंहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाशसहित शेखर कोइराला,सशाँक र आफूलाई सरकारमा मिलाएर लैजान आग्रह गरे । अनि आफू मन्त्री बन्न योग्य रहेको देउवा र आरजूलाई खुलेरै बताए । देउवालाई सभापति बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको र त्यसवापत ‘उपप्रधानसहित गृहमन्त्री पाए हुन्थ्यो’ भन्दै 'हात जोडेको' बुझिएको छ ।

देउवासँग कम र आरजूसँग बढी गफिएका उनले सभापतिले पुरानो गुण तिर्ने विश्वास पनि व्यक्त गरेका थिए । नेता सिंहले दिल खोलेर आफ्नो बात राखेको देउवानिकट नेताको दाबी छ ।

सबैकुरा सुनेका देउवाले भने खासै केही प्रतिक्रिया दिएनन् । अन्तिममा उनले 'साथीहरू र ओली'सँग सल्लाह गरेर निधो दिने बताएपछि सिंह दम्पत्ति बूढानिलकण्ठबाट बाहिरिएको थियो ।

 

टिप्पणीहरू