प्रधानमन्त्रीको प्रश्न - पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा किन चाहियो ?

प्रधानमन्त्रीको प्रश्न - पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा किन चाहियो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले पश्चगामी सोच लिएर मिलेको दाबी गर्नुभएको छ।

प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो । संसदको पहिलो र दोश्रो ठूलो दललाई आपसी विश्वासले नभई डरले जोडेको प्रधानमन्त्रीको जिकिर छ । 

प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडेको बताउनुभयो । उहाँले  झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गर्नुभयो । 

यस्तो छ प्रधानमन्त्रीको भनाई :

सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । 

मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन । 

यहाँ त नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउँदै हुनुहुन्न, अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन् । 

तपाईहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौं आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ ?’

टिप्पणीहरू