‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले मध्यराति कुनै व्यापारीको घरमा भएको रहस्यमय सहमतिलाई ‘राष्ट्रिय सहमति’ भन्न नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्दै उनले नेपाली काँग्रेस र एमालेले राष्ट्रिय सहमतिका नाममा देश र जनतालाई ढाँटेको दाबी गरे । यसले ‘राष्ट्र’ र ‘राष्ट्रियता’ शब्दको मानमर्दन भएको लामिछानेको बुझाई छ ।
‘उहाँहरु (काँग्रेस–एमाले)ले मध्यराति कुनै व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भन्न मिल्दैन, कम्तिमा म र मेरो पार्टी यो कुरा स्वीकार गर्न तयार छैनौं’, उनले भने, ‘यो त राष्ट्र र राष्ट्रियताजस्ता गहन शब्दको अपमान भयो, मानमर्दन भयो ।’
गृहमन्त्री लामिछानेले काँग्रेस प्रमुख सचेतक रमेश लेखकलाई ‘भावी गृहमन्त्री’ भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।
‘माननीय रमेश लेखकज्यूले मलाई स्टन्टबाजी गरेको भन्नुभयो, म उहाँलाई भन्न चाहन्छु, अब तपाईं आफैँ गृहमन्त्री बन्दै हुनुहुन्छ रे !, उनले भने, ‘बाल मन्दिरको जग्गा प्रकरण, पतञ्जली जग्गा प्रकरण, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोल्नुलाई स्टन्टबाजी भनिन्छ भने म पनि तपाईंबाट यस्तै स्टन्टबाजी भन्न चाहन्छु ।’
काँग्रेस र एमालेलाई एकाएक संविधान र व्यवस्थाको किन चिन्ता भयो ? यसबारे बच्चा–बच्चालाई पनि थाहा भएको लामिछानेले बताए ।
टिप्पणीहरू