गुप्तचर हाकिम दिल्ली चलान

गुप्तचर हाकिम दिल्ली चलान

राष्ट्रिय अनुसन्धानको मधेश प्रदेश कार्यालयका प्रमुख सञ्जय यादव भारतको दिल्लीतर्फ वन्यजन्तुको संरक्षणमा गुप्तचरको भूमिकासम्बन्धी बैठकमा भाग लिन गएका छन् । 

यादवको पहलमा मधेश सरकारले विभिन्न जिल्लाको कार्यालयलाई साधन स्रोत सम्पन्न गराउने क्रममा अघिल्लो वर्ष डेढ दर्जन मोटरसाइकल किन्न र चालु वर्ष चार वटा चारपांग्रे सवारी साधन खरिद गर्न पहल गरेबापत शनिबार भारत पठाइएको बताइन्छ । त्यसो त यसै आर्थिक वर्ष मधेश प्रदेशको राजधानी जनकपुरमा गुप्तचरको नयाँ भवन निर्माण शुरु हुने भएको छ ।

सो भवन निर्माण गर्दा आउने वैधानिक कोशेली ल्याउने दाउमा रहेकाले पुरस्कारस्वरूप गुप्तचर प्रमुख हुतराज थापाले यादवलाई दिल्लीको बैठकमा भाग लिन पठाएको दाबी गरिएको छ । भवन निर्माणको लागि करिब २ करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागीय काम र क्षमतामा निकै कमजोर मानिएका यादवको कामको मूल्यांकन भनेको तराईको माछा, सिजनमा लिच्ची र आँप पठाउनमा सीमित रहँदै आएको बताइन्छ । यादवको परिवार कांग्रेसनिकट मानिन्छ भने माओवादी केन्द्रका नेता मातृका यादवको भतिज नाता पर्ने बताइन्छ । 

अहिले गुप्तचरको तर्फबाट प्रधानमन्त्री कार्यालयमा दाङ घर भएका एसपी हेमन्त कार्की खटिएका छन् । उनी माओवादी पृष्ठभूमिकै छन् । प्रचण्ड प्रधानमन्त्री भएदेखि नै कार्की प्रधानमन्त्री कार्यालयमा अनुसन्धान विभागको प्रतिनिधिको रूपमा कार्यरत छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेबित्तिकै एसपी कार्की पनि बदलिने सम्भावना छ । 

आफ्नो मान्छे भन्दै भर्ना गर्ने तर गोप्य र कामलाग्दा सूचना ल्याउन नसक्नेहरूलाई गुप्तचरीको जिम्मेवारी दिएकाले पनि प्रचण्डले यसपटक सेटब्याक खाएको ठान्नेहरू छन् । अर्कोतर्फ काउन्टर इन्टेलिजेन्सको काम नगर्ने भएकाले पनि नेपालका गुप्तचरहरू नाम मात्रका गुप्तचर बनाइएको आरोप लाग्दै आएको छ । दिल्लीमा बस्ने गुप्तचर एसएसपी राजन उप्रेती पनि परराष्ट्र मन्त्रालयको नियमित कामलाई सघाउनेभन्दा अर्थोक केहीमा अगाडि देखिएका छैनन् । 
 

टिप्पणीहरू