राष्ट्रपतिबाट कानुनविद्हरुसँग परामर्शपछि नयाँ सरकार गठनको आह्वान

राष्ट्रपतिबाट कानुनविद्हरुसँग परामर्शपछि नयाँ सरकार गठनको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आह्वान गर्नुभएको हो ।

दाबी पेश गर्ने समय पर्सि अपरान्ह ५ बजेसम्म तोकिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श गर्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि शीतल निवासमा कानुनविद्हरुसँग परामर्श गरिएको थियो ।

राष्ट्रपति पौडेलले कानुनविद्हरु पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीसँग छलफल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू