काँग्रेस र एमालेले यसरी बाँडे मन्त्रालय

काँग्रेस र एमालेले यसरी बाँडे मन्त्रालय
सुन्नुहोस्

नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । दुई पार्टीका शीर्ष नेताले नेपाली काँग्रेसले नौ र एमालेले आठ वटा मन्त्रालय लिनेगरी भागबण्डाको हिसाब मिलाएको बताएका छन् ।

जसअनुसार काँग्रेसले गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने छ । वन तथा वातावरण मन्त्रालय पनि काँग्रेसले नै लिने सहमति भएको छ ।

एमालेको भागमा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ । 

बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ । जसपा, जसपा नेपाल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक–एक वटा मन्त्रालय दिने ठूला दुई दलको तयारी छ । 
मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि दुबै पार्टीले क–कसलाई मन्त्री बनाउने भन्ने अझै निक्र्यौल गरिसकेका छैनन् । चर्चा भएअनुसार काँग्रेसबाट पूर्वउपसभापति प्रकाशमान सिंहले उपप्रधानसहित सरकारमा नेतृत्व गर्नेछन् । काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुलाई परराष्ट्रमन्त्री बनाउने तयारी छ । 

चारवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको काँग्रेसको संस्थापन इतर खेमाले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाइसकेको बताएको छ । तेजुलाल राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बन्न लागेको एकथरी काँग्रेसीको भनाई छ । 

यता सरकारको नेतृत्व गर्ने एमालेबाट भने हालसम्म उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री बनाउने लगभग निधो गरेको छ । बाँकी क–कसलाई मन्त्री दिने भन्ने विषयमा अझै छलफल चलिरहेको सो पार्टीनिकट स्रोतले जनाएको छ ।

टिप्पणीहरू