मन्त्री फेरिएसँगै ज्वाईं–ससुराको चर्चा
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बहिर्गमन र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारसँगै भएको मन्त्री साटफेरमा ज्वाईं–ससुराको सन्दर्भ जोडिएको छ । यसअघिको सरकारमा रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री थिए ।
अहिले श्रेष्ठ निवर्तमान हुँदा क्याबिनेटमा उनका ससुराको पुनरागमन भएको छ । शरद्सिंह भण्डारी १३ औं पटक मन्त्री बनेका छन् । चार महिना अघिसम्म उनले सम्हालेको श्रम तथा रोजगार मन्त्रालय अहिले पनि उनैलाई दिइएको छ ।
गत फागुनमा उनी हटेपछि ज्वाईं श्रेष्ठ खेलकुद मन्त्री बनेका थिए । भण्डारी पहिलो पटक २०४५ सालमा मरिचमान सिंह श्रेष्ठको क्याबिनेटमा सहायक मन्त्री बनेका थिए । त्यसपछि लामो समय नेपाली काँग्रेसबाट मन्त्री बन्न सफल उनी पछिल्लो समय तराई मधेश केन्द्रित राजनीतिक दलमा आवद्ध हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् ।
यस्तै नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं ४ का गगन थापा र नुवाकोट २ बाट विजयी अर्जुननरसिंह केसी पनि नाताले ज्वाईं ससुरा हुन् । आज गठन भएको सरकारमा केसी पनि मन्त्री बन्ने चर्चा थियो । त्यसअघि ज्वाईं थापालाई पनि उपप्रधान तथा गृहमन्त्रीको अफर गरिएको चर्चा एकथरीले चलाएका थिए ।
टिप्पणीहरू