नयाँ सरकारप्रति रविको पार्टी आक्रामक ढंगले प्रस्तुत

नयाँ सरकारप्रति रविको पार्टी आक्रामक ढंगले प्रस्तुत

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमाथि आक्रामकरुपमा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई बधाई र शुभकामना दिएपनि रास्वपाका सांसदहरुले भने एक दर्जन बढी प्रश्न तेर्साएका छन् । 

सांसद सोबिता गौतमले समावेशीतालाई हेर्ने सरकारको दृष्टिकोण के हो ? भन्दै प्रश्न गरेकी छन् । उनले दुई ठूला दल मिलेर गठबन्धन बनाउनु सामान्य नभएको जनाउँदै सम्झौताका रहस्यहरु सार्वजनिक गर्न माग गरिन् । 

‘दुई ठूला दल मिल्ने सामान्य विषय होइन, यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी होस्’, उनले भनिन्, ‘सरकारले समावेशीतालाई हेर्ने दृष्टिकोण के हो ? अहिलेको मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्व देखिएको छैन, दलितको प्रतिनिधित्व शून्य छ ।’

त्यस्तै अर्की सांंसद तोसिमा कार्कीले पनि नयाँ सरकारको आलोचना गरेकी छन् । प्रधानमन्त्रीले क्याबिनेट बनाउँदा समावेशीताको विषयमा संवेदनशीलता नदेखाएको उनको जिकिर छ । ‘दुई ठूला दलको सरकारमा समावेशीता, सहभागिताको कुरा नारा मात्रै हो ? नत्र खोइ सहभागिता ?’, उनको प्रश्न छ । 

रास्वपा सभापति रवि लामिछानेले पनि भ्रष्टाचार र विचलनका मुद्दामा आफूहरु निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सुशासन र समुन्नतिका विषयमा भने आवश्यक परे आफूहरु सहकार्य गर्न तयार रहेको उनको तर्क छ ।

टिप्पणीहरू