अधिकांश पानीका मुहान दूषित, महामारीको जोखिम उच्च

अधिकांश पानीका मुहान दूषित, महामारीको जोखिम उच्च

मुलुकभर प्राकृतिक प्रकोप बढेको छ । मनसुन सक्रियपछि मुलुकका अधिकांश भूभागमा बाढी, पहिरोलगायत विपद्का घटनाले ठूलो धनजनको क्षति भएको छ । प्राकृतिक विपद्सँगै विभिन्न संक्रामक रोगहरुले महामारीको रुप लिने जोखिम पनि उत्तिकै बढेको छ । 

लगातारको वर्षा र बाढीपहिरोका कारण पानीका मुहानहरु दूषित भएका छन् । यसले पानीजन्य रोग फैलिने जोखिम बढाएको छ । पानी शुद्धिकरण नगरी पिउँदा हैजा, झाडापखाला, टाइफाइड, आउँलगायत रोगको संक्रमण हुने जोखिम बढेको हो । 

वर्षेनी विपद्को समयमा पानी दूषित हुने भएकाले जनस्वास्थ्यमा गम्भीर असर पर्दै आएको छ । प्रदूषित खानेपानीका कारण आमनागरिक विभिन्न किसिमका रोगको सिकार हुने गरेका छन् । यसबाट विगतमा कतिपयको ज्यानै समेत गएको छ ।

बाढीपहिरोका कारण पानीका मुहान प्रदूषितसँगै सर्वसाधारण विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएका छन् । देशभरका स्वास्थ्य संस्थामा पानीजन्य रोगका बिरामी बढ्न थालेका छन् । हैजा, झाडापखाला, आउँ, टाइफाइड, डेंगीलगायतका बिरामी बढेसँगै अस्पताल तथा स्वास्थ्य केन्द्रमा चाप बढेको हो ।

दूषित पानीले निम्त्याउने रोग

पानी बिनाको जीवन सम्भव छैन । पानीले जीवनको रक्षा गर्ने भएकाले शरीरको तौलको लगभग ६० प्रतिशत भागमा पानी हुन्छ । मांशपेशी र मस्तिष्कमा ७५ प्रतिशतसम्म, कोशिका र हाडजोर्नीमा २० प्रतिशत र आँखाको नानीमा ८० प्रतिशतसम्म पानी हुन्छ । 

छालाको चमक जोगाउन, पाचनक्रिया सहज बनाउन, आँखाको नानी सुख्खा हुनबाट बचाउन, अंग प्रत्यङ्गलगायतमा स्वच्छ पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीकै कारण एकातिर मानिस बाँचिरहँदा अर्कोतिर त्यहि पानीले उसको ज्यान जान सक्छ । खानेपानीमा लापरबाही गरिएमा मानिसको ज्यान जान कुनै समय नलाग्ने चिकित्सकहरु नै बताउँछन् । 

दूषित पानीको सेवनबाट मानिसमा जण्डिस, पोलियो, झाडापखाला, टाइफाइड, रगत मासी, हेपाटाइटिस, पखाला, हैजा, आउँ, जुकाजस्ता रोगहरुको संक्रमण हुन सक्छ । कतिपय अवस्थामा त यसले महामारीकै रुप लिएर ठूलो धनजनको क्षति पुर्याउन सक्छ ।

खानेपानीको पहुँच ९४ प्रतिशत, गुणस्तर न्यून 

राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार नेपालमा कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवार छन् । तीमध्ये ३४ दशमलब ६ प्रतिशत परिवारले खानेपानीको मुख्य स्रोतका रुपमा घरभित्र ल्याइएका धारा÷पाइप प्रयोग गर्छन् । 

त्यस्तै, खानेपानीको स्रोतमा रुपमा घरबाहिर धारा/पाइप प्रयोग गर्ने २२ दशमलब ४ प्रतिशत, ट्युबवेल÷हाते पम्प २९ दशमलब ८ प्रतिशत, ढाकिएको इनार/कुँवा २ दशमलब १ प्रतिशत, मूल धारा ३ दशमलब ९ प्रतिशत, खोला÷झरना ०.४ प्रतिशत, जार/बोतल ४ दशमलब ६ प्रतिशत र अन्य ०.७ प्रतिशत परिवार छन् । 

खानेपानी मन्त्रालयका अनुसार सन् २०२२ सम्म नेपालको कुल जनसंख्यामध्ये ९४ प्रतिशतमा खानेपानीको पहुँच पुगिसकेको छ । करिब २४ प्रतिशत जनसंख्याको मध्यमस्तरको खानेपानी प्रणालीमा पहुँच पुगेको छ । यता, गुणस्तरीय खानेपानीको पहुँच भने २७ प्रतिशत जनसंख्यामा मात्र पुगेको बताइन्छ । 

महामारीअघि नै व्यवस्थापन जरुरी  

संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुन वर्षायाममा पानीजन्य संक्रमणबाट बच्न पानीको शुद्धिकरण र सरसफाईमा विशेष ध्यान पुर्याउनुपर्ने बताउँछन् । उनले भने, ‘बर्खामा बाढी पहिरोसँगै ढलहरु फुट्ने हुँदा पानीका मुहानहरु दूषित हुन्छन् । खानेपानीमा ढल मिसिने र त्यँही पानी मानिसले पिउँदा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । त्यसैले, बेलामै ध्यान पुर्याउन आवश्यक छ ।’

मनसुन सक्रिय भएसँगै पानीजन्य संक्रमणका बिरामी बढिरहेको उल्लेख गर्दै डा.पुनले भने, ‘रोगले महामारीको रुप लिनुअघि नै यसको व्यवस्थापन गर्नुपर्छ ।’ यता, वर्षाका कारण विस्थापित बाढीपहिरो पीडितहरुले अझ बढी ध्यान दिनुपर्ने उनको सल्लाह छ ।

यस्तो बेला सबैजना एकै ठाउँमा बस्दा शौचसमेत खुल्ला रुपमा गर्नुपर्दा त्यसले झन् जोखिम निम्त्याउने उनी बताउँछन् । डा.पुनले दूषित पानीका कारण दीर्घ रोग लाग्नेतर्फ सचेत हुँदै सम्बन्धित पक्ष र व्यक्ति नै सचेत हुनुपर्ने बताए । 

‘दूषित पानी जहिले पनि स्वास्थ्य समस्याको रुपमा देखिन्छ । यसले पखाला, हैजा, ज्वरोसँगै दीर्घ रोग समेत निम्त्याउँछ,’ उनले भने, ‘दुई दशकअघि पनि प्रदूषित पानीकै कारण हैजा, झाडापखाला, आउँजस्ता रोग लागेर मानिसको ज्यान जान्थ्यो । त्यतिबेला महामारीकै रुप लिएको यी रोगका कारण अहिले पनि धेरै मानिसले ज्यान गुमाउनुपरिरहेको छ ।’

उनले पानीजन्य संक्रमणबाट जोगिन पानीका मुहान सुरक्षित र सफा राख्न, पानी उमालेर, फिल्टर वा शुद्धिकरण गरेर मात्र पिउन, निर्मलीकरण नगरेका पानी नपिउन, धारामा आउने पानीमा पनि ध्यान पुर्याउन सुझाए । त्यस्तै, फलफूल तथा तरकारी पखाल्दा पनि सफा पानी मात्र प्रयोग गर्नुपर्ने उनको सुझाव छ । 

डा.पुनले पानीजन्य रोगको रोकथामका लागि स्थानीयस्तरमा दूषित पानीबाट हुने स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने, पानी शुद्धिकरणका बारेमा जानकारी गराउनेजस्ता सचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेको पनि बताए । सम्बन्धित निकायहरुले समयमै यस्ता कार्यक्रम सञ्चालन गरेमा दूषित पानीका कारण हुने संक्रामक रोग हदैसम्म कम हुने उनको भनाइ छ । 

‘अहिले पनि ग्रामीण भेगका सर्वसाधारण बिना फिल्टर वा शुद्धिकरण नै नगरी पानी पिउँछन् । सहरकै कतिपय ठाउँमा त शुद्धिकरण नगरी पानी पिउने गरेको पाइन्छ । यसैले, सम्बन्धित स्थानीय तहहरुले पानी शुद्धिकरण नगरी पिउँदा हुने स्वास्थ्य समस्याका बारेमा नागरिकका घरघरमा पुगेर जनचेतना फैलाएमा यसले ठूलो राहत मिल्ने छ,’ डा.पुनले भने । 

अस्पतालमा बिरामीको चाप बढ्दो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी वर्षायाम शुरु भएसँगै मनसुन तथा पानीजन्य रोगका बिरामी बढेको बताउँछन् । उनले भने, ‘वर्षात शुरु भएसँगै मनसुन र पानीजन्य रोगका बिरामी बढेका छन् । अहिले देशभरका अस्पतालहरुमा ५०–६० प्रतिशत बिरामी यीनै रोगका छन् ।’

मौसम पूर्वानुमान महाशाखाले यो वर्ष धेरै वर्षा हुने पूर्वानुमान गरेकाले पानीजन्य रोगका बिरामी विगतमाभन्दा बढ्नसक्ने समेत उनले बताए । ‘हरेक वर्ष बर्खामा पानीजन्य रोगका बिरामी बढ्ने गरेका छन् । यो वर्ष वर्षा धेरै हुने पूर्वानुमान समेत गरिएकोले विगतका वर्षभन्दा पानीजन्य रोगको जोखिम बढ्ने हाम्रो अनुमान छ,’ प्रवक्ता बुढाथोकीले भने । 

सोहीअनुरुप मन्त्रालयले आवश्यक तयारी समेत गरिसकेको बताइन्छ । उनका अनुसार मनसुनमा देखापर्ने पानीजन्य रोगको रोकथामका लागि विभिन्न कार्ययोजना बनाइएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय सरकारलाई समेत सक्रिय हुन निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए । 

त्यस्तै, पानीजन्य रोगका बिरामीको उपचारका लागि स्थानीय तहमा आवश्यक जनशक्ति परिचालन गरिसकेको उनको भनाई छ । अगाडि भन्छन्, ‘मातहतका अस्पतालहरुलाई पनि स्रोत र साधन तयारी अवस्थामा राख्न निर्देश गरिसक्यौं ।’ प्रवक्ताले पानीजन्य रोग महामारीमा परिणत हुन नदिन मन्त्रालयले सक्दो प्रयास गरेको दाबी गर्दै सर्वसाधारणलाई समेत पानी शुद्धिकरण वा निर्मलीकरण गरेर मात्र पिउन आग्रह गरेका छन् ।

टिप्पणीहरू