निवर्तमान भएपछि रवि लामिछाने सिमलतालमा
निवर्तमान गृहमन्त्री रवि लामिछाने नारायणघाट–मुग्लिङ्ग सडकको सिमलताल पुगेका छन् । गत शुक्रबार पहिरोले दुई वटा बससहित ६० जनाभन्दा बढी यात्रु बगाएको ठाउँमा पुगेर उनले अवलोकन गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमा गृहमन्त्रीको रुपमा अन्तिम पटक सम्बोधन गरेकै दिन उक्त दुर्घटना भएको थियो । सरकारबाट बाहिरिएको चार दिनपछि उनी घटनास्थल पुगेका छन् ।
बागमती प्रदेश ०३२४९५ ख ००१ र बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पहिरोमा पर्दा पाँच दर्जनभन्दा बढी यात्रु बेपत्ता भएका हुन् । ती मध्ये हालसम्म १५ जनाको मात्र शव भेटिएको छ । आठ जनाको सनाखत भएपनि सातको बाँकी छ । अरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।
हिजो नियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भौतिक पूर्वधार मन्त्रालयका एक जना सदस्य राखिएको छ । कार्यदललाई १० दिनको समयसीमा दिइएको छ ।
टिप्पणीहरू