वैद्यको पार्टी फेरि विभाजित
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फेरि फुटेको छ । तत्कालीन एकीकृत माओवादीबाट छुट्टिएर नेकपा-माओवादी गठन भएयता पटक-पटक फुट र विभाजन व्यहोर्दै आएको सो पार्टी धर्मेन्द्र बाँस्तोला समूहसँग एकता गरेको एक वर्षमै पुन: चोइटिएको हो ।
०८० वैशाख १८ गते वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला संयोजक रहेको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको थियो । एकतापछि बाँस्तोला सह-संयोजक तोकिएका थिए । तर, आज बाँस्तोलाले एक लामो विज्ञप्ति जारी गदै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् ।
सैद्धान्तिक किचलोले गर्दा पार्टी अघि बढ्न नसकेको उनले बताएका छन् । जिम्मेवार क्रान्तिकारीहरु आपसमा लडेर उर्जा सखाप पार्नुभन्दा संयमतापूर्वक एक कदम पछि हटेर एक-अर्कालाई सहयोग गर्न आवश्यक रहेको उनको ठम्याई छ ।
'केन्द्रीय समितिको बैठकमा व्यापक बहस भएर तल्ला कमिटीहरूमा समेत फरक दस्तावेजहरू पठाउने भन्ने महाधिवेशन आयोजक समिति र केन्द्रीय कार्यालयको निर्णयविपरित कमरेड संयोजकबाटै सल्लाह नै नगरेर यसरी विषयवस्तु जबर्जस्त थोपर्नु बहसलाई अमर्यादित बनाउनु र अनुसन्धानलाई अस्वीकार गर्नु हुन जान्छ', बाँस्तोलाले विज्ञप्तिमा भनेका छन्, 'कुनै न कुनै रुपमा यो दृष्टिकोण र चिन्तन पद्धतिको समेत सीमा हो,हामीले आफैँलाई नढाँटेर भन्ने हो भने यो बेला रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकायमा र प्रमुख नेतृत्व तहमै हो ।'
यसअघि बाँस्तोला समूहसँग गरेको एकता अस्वीकार गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट अर्को समूह पनि बाहिरिएको थियो ।
टिप्पणीहरू