ओली सत्तामा उक्लेसँगै प्रतिगमनको खतरा बढेको ठहर

ओली सत्तामा उक्लेसँगै प्रतिगमनको खतरा बढेको ठहर
सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको निष्कर्ष निकालेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे आफ्ना धारणा सार्वजनिक गर्दै प्रतिगमनको खतरा औंल्याएका हुन् । 

अध्यक्ष केसीले आज सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री ओलीलाई अविश्वसनीय तथा अधिनायकवादी चरित्रको नेताका रुपमा चित्रण गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ डोहोर्याएको स्मरण गरिएको छ ।  

'केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्ग प्रशस्त गर्ने भन्दा दुई–दुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् ।"

दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनुले लोकतन्त्र र राष्ट्रियतामाथि चुनौती थपिएको जनमोर्चाको ठहर छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामाथि उसले जोड दिएको छ ।

‘यो गठबन्धन र केपी ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई पार्टीबीच भएको सम्झौता गोप्य राख्नुले राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका उब्जिएको जनमोर्चाले बताएको छ ।

 

टिप्पणीहरू