प्रधानमन्त्रीको ठट्टा :गीत खरेलहरुले मात्रै लेख्छन् कि क्या हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालमा खरेल थरका व्यक्तिहरुले मात्रै गीत लेख्छन् क्या हो ?’ भन्दै ठट्टा गर्नुभएको छ । २०३९ सालमा पहिलो छिन्नलता गीत पुरस्कार (रचनातर्फ) किरण खरेलले प्राप्त गरेका थिए र २०७९ सालको पुरस्कार भुषण खरेलले प्राप्त गरे । सोही प्रसङ्गमा प्रधानमन्त्री ओलीले उक्त ठट्टा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘२०३९ सालमा किरण खरेलले पाउनुभएको थियो जस्तो लाग्छ, अहिले फेरि भुषण खरेलले पाउँदै हुनुहुन्छ, जे भए पनि उहाँहरुमा सिर्जना गर्ने परम्परा एकदमै राम्रो छ ।’ छिन्नलता गुठीले दुई वर्षको पुरस्कार यस पटक एकैचोटी वितरण गरेको हो ।
गत वर्ष गुठीले विभिन्न प्राविधिक समस्या जनाउँदै पुरस्कार घोषणा गरेको थिएन । २०७९ र २०८० को पुरस्कार एकैचोटी वितरण गर्दै समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।
२०७९ सालको छिन्नलता गीत पुरस्कारबाट शिव परियार (गायनतर्फ), भूषण खरेल (रचनातर्फ) र मनराजा नकर्मी (संगीततर्फ) सम्मानित भएका छन् । त्यस्तै ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ गायिका मेनुका पौडेललाई प्रदान गरिएको छ । २०८० सालको छिन्नलता गीत पुरस्कारबाट मनिला सोताङ (गायनतर्फ), वीरेन्द्र पाठक (रचनातर्फ) र चण्डीप्रसाद काफ्ले (संगीततर्फ) सम्मानित भए । ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ भने गायक भूपू पाण्डेलाई प्रदान गरियो ।
सो अवसरमा उहाँले गायिका मेनुका पौडेलको प्रंशसा गर्नुभएको छ । गायिका पौडेलले स्वदेशसँगै विदेशमा पनि तहल्का मच्चाएको उल्लेख गर्दै भन्नुभयो, ‘भावनालाई नै तरंगीत बनाउने गीत–संगीत मन नपर्ने को पो होला र !’ गायिका पौडेलले दृष्टिविहिन हुँदापनि विदेशमा तहल्का मच्चाएकाले संगीतको लागि आँखाको सट्टा कला र गला चाहिने बताउनुभयो ।
गुठीले यस वर्षबाट पुरस्कारको राशी पनि बढाएको छ । अघिल्ला वर्षहरुमा पुरस्कारको राशी जनही ५० हजार थियो भने यस वर्षबाट एक लाख कायम गरिएको छ । त्यस्तै लोकप्रिय युवा प्रतिभा पुरस्कारको राशी ३५ हजारबाट ५० हजार पुर्याइएको छ ।
टिप्पणीहरू