चन्द्र भण्डारीलाई यसरी बनाइयो जिउँदो शहीद
सभापति शेरबहादुर देउवाले एकलौटी पार्टी चलाएको आरोप लगाउँदै आएको काँग्रेस संस्थापन इतर खेमा आफैँ मन्त्री भागबण्डाको बिबादमा परेको छ ।
मन्त्री चयनमा प्रभावशाली नेताहरु हावी हुँदा तुलनात्मकरुपमा इमान्दार र अवसर नपाएकाहरु कर्नरमा पारिएपछि सँधै देउवालाई दोष दिएर उम्कने गरेको इतर पक्ष आफैँ किचलोमा परेको हो । शेखर-गगन समूह भनिने उक्त खेमाका मुख्य नेताहरुमाथि बिना मापदण्ड हचुवामा मन्त्री छानेको आरोप लागेको छ ।
कांग्रेसमा पार्टीका आन्तरिक र राजकीय जिम्मेवारीमा संस्थापन र इतर खेमाबीच ६०-४० को भागबण्डा गर्ने अभ्यास चल्दै आएको छ । यसपल्ट संस्थापनबाट ६ र अर्को पक्षका ४ जना मन्त्री बनाइए । जसमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट क्रमश: दुई र एक-एक जना मन्त्री बने ।
शेखरको भागमा परेको दुई मन्त्रालयमा सहमहामन्त्री बद्री पाण्डे र रामनाथ अधिकारी छानिए । उनीहरुलाई क्रमश: कृषि र पर्यटन मन्त्री बनाइयो । राष्ट्रपति पौडेलको कोटामा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बने । महामन्त्री गगनको भागमा परेको स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेल रोजिए ।
'गगनलाई त्रिचन्द्रको स्ववियु सदस्य बनाउन चन्द्र दाइको ठूलो भूमिका थियो',यसबारे जानकार कांग्रेस स्रोत भन्छ, 'अहिले गगनले नै उनलाई रोके । यस्तो राजनीति धेरै टिक्दैन !'
कांग्रेस-एमाले सहकार्यमा जोड दिँदै आएका चन्द्र भण्डारी यसपटक मन्त्रीको चर्चा थिए । इतर खेमामा पनि उनी शेखर निकट मानिन्छन् । १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका शेखरको प्रस्तावक पनि थिए । अहिलेसम्म लाभको पदमा नपुगेका र आगलागीमा परी मृत्युको मुखबाट फर्किएका उनलाई मन्त्री बनाउने आश्वासन सभापति देउवाले पनि दिएका थिए । तर,शेखर-गगन समूहबाटै रोकिएपछि चाहेर पनि देउवाले मन्त्री बनाउन सम्भव भएन ।
यसैबीच शेखरले आज निवासमै पुगेर भण्डारीलाई भेटेका छन् । आज दिउँसो भएको भेटमा उनले मन्त्री बनाउन नसकेकोमा माफी मागेको बताइएको छ । कांग्रेस स्रोतका अनुसार भण्डारीलाई मन्त्री बनाउन सभापति देउवा र शेखर दुबै सकारात्मक थिए । तर,वीचमा महामन्त्री गगनले अर्कै रोल खेलेर रोकेको बताइन्छ ।
भण्डारी अहिलेसम्म मन्त्री नबन्ने काँग्रेसको पहिलो पुस्ताका थोरैमध्येका एक हुन् । तुलनात्मकरुपमा इमान्दार मानिने उनी गगनको पुस्ताका थुप्रै नेताका 'राजनीतिक गुरु' मानिन्छन् । गगनलाई राजनीतिमा स्थापित गर्न उनको पनि महत्वपूर्ण भूमिका छ, भनिन्छ ।
'गगनलाई त्रिचन्द्रको स्ववियु सदस्य बनाउन चन्द्र दाइको ठूलो भूमिका थियो',यसबारे जानकार कांग्रेस स्रोत भन्छ, 'अहिले गगनले नै उनलाई रोके । यस्तो राजनीति धेरै टिक्दैन !'
टिप्पणीहरू