प्रकाशमानलाई बधाई दिन काठमाडौँका किसानलाई उर्दी
कांग्रेस पार्टीमा लागेका काठमाडौँका किसानहरुले नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना दिने भएका छन् । नेपाल किसान संघ काठमाडौँले भोलि उपप्रधानमन्त्री सिंहलाई भेटेर बधाई तथा शुभकामना दिने कार्यक्रम बनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष अमृतमान महर्जनले कार्यकर्ता तथा समर्थकहरुलाई भोलि बिहानै सिंह निवास चाक्सीबारीमा उपस्थित हुन सार्वजनिक निम्तो गरेका छन् । काठमाडौँका दश वटै निर्वाचन क्षेत्र र नगरपालिकाहरुमा क्रियाशील किसान महासंघका कार्यकर्ता तथा शुभचिन्तकलाई बधाई कार्यक्रममा सहभागी हुन भनिएको छ ।
वामपन्थी सरकार ढालेर केपी शर्मा ओलीको नेतृत्वमा सत्तामा उक्लिएको नेपाली कांग्रेसका नवनियुक्त मन्त्रीहरुलाई अहिले खादा र मालासहित बधाई थापेर भ्याई-नभ्याई छ । सो पार्टीका भातृ संस्थाहरुले औपचारिक रुपमै मन्त्रीहरुलाई बधाई दिइरहेका छन् ।
नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही आज पनि सम्मानित भएका छन् । मुगु गृहजिल्ला भएका उनलाई जिल्ला सभापति खड्गबहादुर शाहीले एअरपोर्ट नजिकै सानो गौचरण पाठशाला रेस्ट्रोमा बोलाएर बधाई तथा शुभकामनासहित सम्मान गरेका हुन् ।
यता,गृहमन्त्री रमेश लेखकलाई बधाई दिन नेविसंघका केन्द्रीय सदस्य केशवराज जोशीले सुदूरपश्चिम प्रदेशका सबै कांग्रेसजनलाई अनुरोध गरेका छन् । पहिलो पटक मन्त्री बनेकी सभापति शेरबहादुर देउवापत्नी आरजू राणा देउवा पनि बधाई थाप्न उत्तिकै व्यस्त छिन्। खादा र माला लिएर भेट्न जाने र सेल्फी खिच्नेहरुको दैनिक मन्त्रालयमा बाक्लो भीड लाग्ने गरेको बताइन्छ ।
टिप्पणीहरू