के यो भन्न र गर्न मिल्ने कुरा हो ?
मुलुकको शान्ति सुरक्षा र समग्र गृह प्रशासन चलाउने जिम्मेवारी गृह मन्त्रालय मातहतका निकाय र प्रहरीको हो । र,त्यसको नेतृत्व गृहमन्त्रीले गर्छ । अहिले नेपाली काँग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् । त्यसैले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने र आवश्यक रणनीति बनाउने जिम्मा पनि उनकै हुन्छ।
तर,उदेकलाग्दो कुरा,शहरी विकास मन्त्रालयको नेतृत्व गर्ने नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंहले तीन वटै प्रहरी संगठनका प्रमुखलाई भेटेर मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे चासो राखेका छन् । उनी आफैँले भेटघाटको फोटो फेसबुकमा हालेर सगौरव यसबारे जानकारी गराएका हुन्।
'सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु', सिंहले फेसबुकमा लेखेका छन् ।
नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्रका आइजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा हिजो उपप्रधानमन्त्री सिंहलाई भेट्न मन्त्रालय पुगेका थिए । बधाई दिन भन्दै बुके लिएर सिंहदरबार छिरेका उनीहरु केहीबेर कुराकानी गरी बाहिरिए ।
गृह मन्त्रालय मातहतको प्रहरी संगठनका प्रमुखहरुलाई बोलाएर सुरक्षा ब्रिफिङ लिएँ भनेपछि सिंहको आलोचना भैरहेको छ । त्यस्तै, बधाई दिने नाममा अर्कै मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीलाई भेट्न लाइन लागेर गएका प्रहरी प्रमुखहरुमाथि व्यक्तिगत स्वार्थका लागि चाकडी गरेको आरोप लागेको छ ।
टिप्पणीहरू