काँग्रेसको माग पूरा गरेर भएपनि सरकार जोगाउन तयार
मधेस प्रदेशमा लामो समयको कलहपछि नेपाली काँग्रेस र जनमत पार्टी एउटा सहमतिमा पुगेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले सहमतिबमोजिम अर्थ मन्त्रालय नदिएपछि काँग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकारमा बनाउने तयारी थालेको थियो । काँग्रेसका प्रदेश सभा सदस्य कौशल किशोर रायले एमाले र लोसपासँग नयाँ सरकारबारे छलफल भइरहेको हिजो दाबी गरेका थिए ।
तर आज नेपाली कांग्रेस सिंह नेतृत्वको सरकारमा सहभागी हुन तयार भएको छ । मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय दिन तयार भएपछि काँग्रेस सकारात्मक बनेको बताइन्छ ।
अन्य दलसँग पनि भागबण्डा मिलाउनुपर्ने भएकाले कांग्रेसलाई अर्थ मन्त्रालय दिन कठिन भएको मुख्यमन्त्री सिंहले बताउँदै आएका थिए । ‘उहाँहरुले पहिल्यैदेखि अर्थ भनिरहनु भएको थियो, आज कुरा मिलाइहाल्यौँ’, उनले जनआस्थासँग भने ।
सहमतिसँगै काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रदेश सभा सदस्य कुमार कान्त झाका अनुसार सुनिल यादवले अर्थ मन्त्रालय, जनार्दन सिंहले कृषि तथा सहकारी मन्त्रालय, शेष नारायण यादवले ऊर्जा तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको नेतृत्व गर्नेछन् । आजै नियुक्ति र सपथको तयारी भइरहेको छ ।
टिप्पणीहरू