नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्छ : डा. स्वर्णिम
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकमा विदेशी मुद्राको सञ्चिति अचाक्ली भएकाले विदेशमा लगानी गर्न दिनुपर्ने धारणा राखेका छन् । नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति अथाह बढेकाले त्यसको सदुपयोग गर्न नेपालीलाई विदेशमा डलर लगानीको अवसर दिनुपर्ने उनको भनाइ छ ।
वाग्लेले भने, ‘इतिहासमै यति धेरै डलर राष्ट्र बैंकमा थुप्रिएको थिएन । यसरी रकम, पैसा धरै थुप्रनु राम्रो हैन । यसको प्रयोग गर्नुपर्छ ।’ उनले भारतसँगको नेपाली मुद्राको विनिमयदर पेगमा आधारित भएकाले ३० वर्षसम्म पुनरावलोकन नगरिएकोमा आश्चर्य व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको सन्दर्भमा रास्वपाले आयोजना गरेको अन्तरक्रियामा उनले उक्त धारणा राखेका हुन् । उनले हालै जारी नयाँ बजेटमा तत्कालीन समस्या सम्बोधनका कुनै खास विषय नभएको उल्लेख गरे । ‘अहिलेको बजेट दीर्घकाल र मध्यकालको निम्ति राम्रो भए पनि तत्कालको समस्या सम्बोधन गर्दैन, त्यसैले त्यसलाई चिर्ने गरी मौद्रिक नीति आउनुुपर्छ ।’
टिप्पणीहरू