जनतालाई अपर्याप्त नून, मन्त्रीहरुसँग घरजग्गा र सुन
कर्णालीका कतिपय ठाउँमा अझै बिजुली पुगेको छैन । सडक पुगेको छैन । जनताले पर्याप्त नून पाउन सकेका छैनन् । गरिबीको रेखामुनि रहेका जनतामध्ये सबैभन्दा बढी सोही प्रदेशका छन् । तर जनता गरिब भए पनि नेताहरु भने धनी नै हुन्छन् भन्ने भाष्य उक्त प्रदेशका मन्त्रीहरुको सम्पति विवरणले पुष्टि गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री यामलाल कंडेलसँग विभिन्न ११ वटा बैंकमा करिब ३४ लाख नगद रहेको देखाइएको छ । उनीसँग वीरेन्द्रनगर–४ मा दुई वटा घर, काठमाडौँको कागेश्वरीमा एउटा घर र विभिन्न चार ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री कंडेलको एक दर्जन कम्पनीमा शेयर र १० तोला सुन भएको बताइएको छ । उनीसँग बा. २ च ९२७३ नम्बरको सवारी साधन छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढासँग डोल्पाका एक दर्जन ठाउँमा जग्गा र घर रहेको उल्लेख छ । विभिन्न बैंकमा २० लाख नगद र घरमा २० तोला सुन देखाइएको छ । उनले आफूसँग दुई वटा बुलेट बाइक, चार वटा घोडा रहेको उल्लेख गर्दै सबैको स्रोत व्यापार भएको उल्लेख छ ।
त्यस्तै कर्णालीकै अर्का धनी मन्त्री हुन् सामाजिक विकासमन्त्री वीरबहादुर शाही । उनले डोल्पामा एउटा घर, सुर्खेतको वीरेन्द्रनगरमा एउटा घर र बाँकेमा दुई वटा घर देखाएका छन् । मन्त्री शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी सात ठाउँमा जग्गा रहेको पनि उल्लेख छ ।
उनीसँग पाँच लाख नगद, २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला, २ वटा डोजर र एउटा ट्याक्टर पनि छ । आफूसँग ४० घोडा र ६० खच्चड भएको सम्पत्ति विवरण बुझाएका छन् । यसकासाथै मन्त्रीसँग एक करोड बराबरको नीजि कम्पनी र स्याउ फार्म पनि छ ।
कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहसँग दैलेखका विभिन्न ठाउँमा घर र जग्गा, काठमाडौँको बुढानीलकण्ठमा एउटा दुई तले घर, भक्तपुरको सुर्यविनायकमा एउटा घडेरी छ । उनले ६५ तोला सुन, १५ क्यारेट हिराको हार र एक हजार ५ सय तोला चाँदी देखाएका छन् । आफूसँग बैँकमा भने करिब ३० हजार मात्र नगद रहेको उल्लेख छ ।
हुम्ला घर भएका ऊर्जामन्त्री रणसिंह परियारसँग भने तुलनात्मक रुपमा सम्पति कम रहेको देखिएको छ । उनीसँग हुम्लामै ६० रोपनी पुख्र्यौली सम्पति र चार वटा गाई छन् । त्यस्तै, तीन तोला सुन र बैंकमा ६० हजार नगद रहेको विवरणमा उल्लेख छ । यसबाहेक उनले ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल चलाउँदै आएको बताएका छन् ।
पर्यटनमन्त्री दुर्गबहादुर रावतले कालिकोटमा एउटा मात्र घर रहेको जनाएका छन् । जिल्लाकै विभिन्न सात ठाउँमा जग्गा रहेको उल्लेख छ । उनीसँग दुई वटा बैकमा १९ लाख ५० हजार नगद रहेको जनाए पनि विवरणमा सुन र चाँदी भने नभएको बताएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले पनि आफूसँग सुन र चाँदी नभएको उल्लेख गरेका छन् । उनीसँग रुकुम पश्चिममा एउटा घर र दुई वटा जग्गा तथा कपिलवस्तुमा ३ कठ्ठा जग्गा रहेको बताइन्छ । दुई वटा बैंक खातामा छ लाख नगद उल्लेख छ ।
राज्यमन्त्री गमता विकले दैलेखको आठबिस नगरपालिकामा एउटा कच्ची घर रहेको जनाइन् । चार तोला सुन, १० तोला चाँदी र बैंकमा पाँच लाख नगद रहेको विवरणमा उल्लेख छ । उनले घरमा ३० हजारको टिभी र हातमा पाँच हजारको घडी लगाएको जनाएकी छन् ।
टिप्पणीहरू