ठूलाबडासङ्ग भेटघाट रातारात

ठूलाबडासङ्ग भेटघाट रातारात

प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो बेलुकी अबेर विभिन्न निकायका उच्चपदस्थ अधिकारीले भेट गरेका छन् । साँझ साढे ५ बजेदेखि बोलाइएका ती अधिकारीहरु क्याबिनेट बैठक ढिलो बसेर ढिलै सकिएकाले भेटघाटका लागि सवा ८ बजेसम्म सिंहदरबारमा कुर्न बाध्य भएका थिए ।

प्रधानमन्त्रीसँग सबैभन्दा पहिले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँगै तीन जना आयुक्त र सचिवले भेटे । उनीहरुले साढे ६ बजेदेखि सवा ७ बजेसम्म आफ्ना कुरा राख्ने मौका पाएको बुझिएको छ । प्रधानमन्त्रीसँगको भेटमा थपलियासँगै आयुक्तहरु रामप्रसाद भण्डारी,जानकी तुलाधर,सगुन समशेर र सचिव रविलाल पन्थ थिए । भेटका लागि साढे ५ बजे बोलाइएकाले टोली सवा ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो ।

निर्वाचन आयोगपछि हिजो बेलुकी सवा ७ बजेदेखि पौने ८ बजेसम्म प्रधानमन्त्रीसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र पूर्वमहासचिव भरतराज गौतमले संयुक्त रुपमा भेटेको बुझिएको छ ।

संसदका वर्तमान र भूतपूर्व महासचिव निस्केपछि प्रधानमन्त्रीसँग भेट गर्ने पालो नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको थियो । उनले राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म प्रधानमन्त्रीसँग भेट गरे ।

यसअघि अस्ति बेलुकी अख्तियार  प्रमुख आयुक्त प्रेम राईसहित आयुक्तहरुको टोली र सचिवले पनि प्रधानमन्त्रीसँग सिंहदरबारमा भेटेर बधाइ दिएको थियो ।
 

टिप्पणीहरू