उपसभामुखबारे आकस्मिक छलफल, परियार भन्छन्- अहिले धेरै बोल्न मिल्दैन

उपसभामुखबारे आकस्मिक छलफल, परियार भन्छन्- अहिले धेरै बोल्न मिल्दैन
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता आकस्मिक छलफलमा जुटेका छन् । पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा परेपछि त्यसबारे आन्तरिक छानविन गर्न नेताहरु छलफलमा जुटेको बताइएको छ ।   

पार्टी मुख्यालय बनस्थलीमा अहिले सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठलगायतका नेताहरु संवादमा छन् । उपसभामुख रानाले पदीय हैसियतको चरम दुरुपयोग गर्दै भीसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र बुधबार सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित ६ जना गैरसंसदीय व्यक्तिलाई समेत भीसाका लागि सिफारिस गरेको पाइएको छ । एक वर्ष गुपचुप रखिएको उक्त पत्र बाहिर आएसँगै राना चर्को विवादमा परेकी छन् । 

उपसभामुख निर्वाचित पार्टी सदस्यता त्याग्नुपर्ने बाध्यात्मक अवस्थाका कारण हाल उनी रास्वपाको औपचारिक जिम्मेवारीमा छैनन् । तर, विगतमा सोही पार्टीमा आवद्ध रहेको र घण्टीबाटै समानुपातिक सांसद चुनिएकाले यस प्रकरणले रास्वपामाथि पनि नैतिक प्रश्न तेर्सिएको छ । यस प्रकरणमा आर्थिक लेनदेन भएको समेत आशंका गरिएको छ । 

चौतर्फी विवाद र प्रश्नले घेरिएपछि रास्वपाले यसबारे छलफल थालेको हो ।  सो पार्टीका नेताहरुले उपसभामुख रानासँग सोधपुछसमेत गरिसकेको बताइएको छ । यता, संसद्को कार्यव्यवस्था परामर्श समितिकोमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा सहभागी रास्वपा सांसद सन्तोष परियारले उपसभामुखको विषयमै छलफल चलिरहेको जानकारी दिए । 

उनले भने, ‘कपिपय साथीहरुले उपसभामुखको विषय उठाइरहनु भएको छ, म बैठकमै छु, अहिले धेरै बोल्न मिल्दैन।’ 

उपसभामुख रानाले गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी भीसा मिलाइदिन पत्र लेखेकी थिइन् । जबकि उच्च पदस्थ पदाधिकारी विदेश भ्रमणमा जानुपरे राज्यका निकायले नै सोको प्रवन्ध मिलाउने गरेको छ ।

टिप्पणीहरू