प्रधानमन्त्रीलाई विश्वासको मत दिन ‘एसएमएस’ ह्वीप
नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आफ्ना सबै सांसदलाई पठाएको ‘एसएमएस’ मा ह्वीपबारे लेखिएको छ ।
प्रतिनिधिसभाको भोलि दिउँसोको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन बर्तौलाले एसएमएसमा ह्वीप जारी गरेका हुन् । ‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु,’ जारी ह्वीपमा उल्लेख छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेपाली काँग्रेसले भने भोलि मात्रै ह्वीप जारी गर्ने बताइएको छ । काँग्रेस संसदीय दलको बैठक भोलि मध्यान्ह १२ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ ।
टिप्पणीहरू