शरदसिंह मन्त्री बनेपछि बिच्किएका राजेन्द्र महतो नयाँ पार्टीको अध्यक्ष बन्दै

शरदसिंह मन्त्री बनेपछि बिच्किएका राजेन्द्र महतो नयाँ पार्टीको अध्यक्ष बन्दै
सुन्नुहोस्

झण्डै एक वर्षदेखि राष्ट्रिय मुक्ति क्रान्ति नामक संगठन सञ्चालन गर्दै आएका महन्थ ठाकुर नेतृत्वको लोसपाका नेता राजेन्द्र महतोले आगामी असोज ३ गते नयाँ पार्टी सार्वजनिक गर्ने तयारी थालेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिलाई नै राजनीतिक दलको रुपमा निर्वाचन आयोगमा दर्ता गर्ने योजनामा काम गरिएको लोसपा महतो निकट एक जना नेताले बताएका छन् ।

त्यसपछि महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पार्टीको तर्फबाट केही माग राखिएको ज्ञापनपत्र बुझाउने योजना छ । केही समयको अल्टिमेटममा पनि माग पूरा नगरिए हिउँद लागेपछि आन्दोलन चर्काउने भनिएको छ ।

यो सबै योजना नयाँ सरकारमा दलको तर्फबाट पुरानै व्यक्तिको सहभागितापछि बनाइएको बुझिएको छ । शरदसिंह भण्डारी चार महिनापछि पुनः सरकारमा पहिलेकै श्रम मन्त्रालयको जिम्मेवारीमा पुगेपछि महतो समूहले मार्ग परिवर्तन गर्न लागेको हो । 

सर्वेन्द्रनाथ शुक्ला र रामप्रयास चौधरीको चाहनामा तुषारापात भएपछि महतोले वैकल्पिक योजना अघि सारेका हुन् । कानुनतः आगामी दुई वर्षसम्म लोसपा विभाजन गर्न नमिल्ने भएपछि महतो नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेको उनी निकटस्थहरु बताउँछन् ।

यसअघि ठाकुर, महतो, भण्डारी, अनिल झालगायतका नेताहरूले २०७८ भदौ ९ गते निर्वाचन आयोगमा लोसपा दर्ता गरेका थिए । कानुनअनुसार फुटेर नयाँ पार्टी गठन भएको दललाई पाँच वर्षसम्म फुटाउन मिल्दैन ।

मूल पार्टीबाट चोइटिएर दर्ता भएको पार्टी पाँच वर्षसम्म फुटाउन नमिल्ने कानुनी व्यवस्था छ । त्यसैले उनी लोसपा फुटाउनतिर भन्दा नयाँ दल दर्तातर्फ लागेको सहजै अनुमान गर्न सकिन्छ । 

महतोले गत फागुनमा पनि सोही संगठनको आवरणमा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने बताएका थिए ।

टिप्पणीहरू