आज उपसभामुखलाई हायलकायल पार्ने तयारी
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्न लागेको बैठकमा उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको गैरकानुनी पत्रबारे सांसदहरुले चर्को आवाज उठाउने भएका छन् । उनीहरुले उक्त पत्रलाई पदको दुरुपयोग गरी पाँच जना गैह्र साँसदलाई अमेरिका लैजान खोज्ने अर्को भुटानी काण्डको रुपमा लिएका छन् ।
विशेषगरी नेपाली काँग्रेस र एमालेका सांसदहरुले उपसभामुखको उक्त पत्रबारे संसद बैठकमा चर्को धारणा राख्न लागेकाे बताइन्छ । त्यसबारे शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी र संसदको कार्यव्यवस्था परामर्श समितिमा उठाइएको प्रश्नले पनि सांसदहरुले उनीमाथि छानबिनको माग राख्न लागेको बुझिन्छ ।
राज्यव्यवस्था समितिका सभापति तथा काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको नेतृत्वमा बसेको शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा यसबारे बेलिबिस्तार लगाइसकेका छन् । उनले उपसभामुखमाथि छानबिन हुनुपर्ने माग राखेका थिए । त्यसैगरी नेपाली काँग्रेसकी सचेतक ईश्वरी न्यौपानेले पनि उपसभामुखले पदीय हैसियत नाघेर गरेको पत्राचारबारे संसद बैठकमा कुुरो उठ्ने बताइन् ।
एमालेले औपचारिक रुपमा त्यसबारे केही बताएको छैन । तर,प्रमुख सचेतक महेश बर्तौलाले सभामुख, उपसभामुखको जिम्मेवारी र दायित्व निकै माथिल्लो तह र महत्वपूर्ण भएकाले सोहीबमोजिमको आचरण देखाउनुपर्ने बताउँदै आएका छन् ।
उपसभामुख रानाले भने आफूले ती पाँच जनालाई भीसा मिति अघि सार्नका लागि करुणा भावले पत्र लेखिदिएको स्पष्टिकरण दिनुभएको छ । तर,पदीय मर्यादाको ख्यालबारे उक्त पत्रमा केही पनि उल्लेख छैन ।
टिप्पणीहरू