काँग्रेसीहरु पढ्दैनन् भन्ने पार्नु हुँदैन - शेरबहादुर देउवा

काँग्रेसीहरु पढ्दैनन् भन्ने पार्नु हुँदैन - शेरबहादुर देउवा
सुन्नुहोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा रहेको पुस्तकालयको आज शुभारम्भ गर्दै उहाँले सो धारणा राख्नुभएको हो । देउवाले भन्नुभयो, ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर, अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई !'

त्यसक्रममा उहाँले नेपाली राजनीति र साहित्यका क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाले पुर्याएको योगदानको स्मरण गर्नुभयो । बीपीलाई आफूले सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार हुने व्यक्तिको रुपमा चिनेको देउवाको भनाई छ । 

‘राजनीति र साहित्यका साथ धेरै कुरामा बीपीको योगदान छ’, उहाँले भन्नुभयो, ‘राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

कांग्रेसले घोषणा गरेको एक वर्षपछि केन्द्रीय कार्यालयमा सुविधासम्पन्न पुस्तकालय सञ्चालनमा ल्याएको हो । गत वर्ष साउनमा महामन्त्री गगन थापाले पार्टी साहित्य तथा दस्तावेजहरुको अभिलेखीकरणका लागि पुस्तकालय निर्माणको प्रस्ताव अघि सारेका थिए ।  

पुस्तकालयमा राजनीति, दर्शन, साहित्य, अर्थ राजनीति लगायत सम्बन्धि पुस्तकहरु राखिएको छ । अझै पुस्तकहरु संकलन गर्ने काम भइरहेको बताइएको छ ।

टिप्पणीहरू