बहादुरलाई मुख्यमन्त्री बनाउन इन्द्रबहादुर तयार
नेपाली काँग्रेसका नेता बहादुरसिंह लामा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रीय सत्ता गठबन्धनको भागबण्डाअनुसार आफ्नो भागमा परेको यहाँको मुख्यमन्त्रीमा काँग्रेसले उनलाई अघि सारेको छ ।
काँग्रेसले सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो । सोहीअनुसार नयाँ मुख्यमन्त्रीको लागि छलफल गर्न आज प्रदेश ससंदीय दलको बैठक बसेको छ ।
आज बसेको संसदीय दलको बैठकले बहादुरलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको काँग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बाँनियाले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘हाम्रो संसदीय दलको बैठकले बहादुर लामाज्यूलाई मुख्यमन्त्रीम अघि सार्ने निर्णय गरेको छ ।’
यसअघि बानियाँ आफैँ संसदीय दलको नेता हुने र मुख्यमन्त्री बन्ने तयारीमा रहेको चर्चा थियो । ‘मुख्यमन्त्री बन्न तपाईं पनि इच्छुक हुनुहुन्थ्यो नि हैन र ?’ भन्ने प्रश्नमा बाँनियाँले भने, ‘इच्छा भएर मात्र हुँदैन, अहिले देशभर बाढी र पहिरोले आक्रान्त छ, यस्तो अवस्थामा हामी पनि पार्टीभित्र मिलेर एकजुट हुने निर्णय गर्यौं ।’
बानियाँले स्रम्भावित मन्त्रिमण्डलमा समावेशीतालाई ध्यान दिएर मन्त्रीहरु पठाउने योजना पनि सुनाए । ‘केन्द्रमा महिला र दलित भएन भन्ने कमेन्ट आइरहेको छ, हामी त्यसमा सचेत भएका छौं’, उनले जानकारी गराए ।
एमालेले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका छन् ।
टिप्पणीहरू