उपसभामुखलाई नहेप्न रास्वपाको चेतावनी
गैरसांसद व्यक्तिलाई अमेरिकी भीसा दिलाउन दूतावासलाई लेखेको पत्र बाहिरिएपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानाबारे संसदमा चर्काचर्की परेको छ ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेस सांसद रामहरी खतिवडाले उपसभामुख रानाले पदीय मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाए । मानव तस्करी गर्न सहयोग पुग्ने गरी उपसभामुखले भीसाको निम्ति सिफारिस गरेको उनको आरोप छ ।
सांसद खतिवडाले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । संसद र सभामुखलाई भीसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उनले संसदमा चर्को आक्रोश पोखे ।
सत्ता पक्षका सांसदले उपसभामुख रानामाथि गम्भीर प्रश्न उठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिवाद गरेको छ । सो पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानालाई नहेप्न चेतावनी दिइन्।
एक वर्षअगाडि लेखिएको पत्र अहिले योजनाबद्धरुपमा सार्वजनिक गरिएको जनाउँदै उनले संवैधानिक परिषदमा अल्पमतको अवस्था बनेपछि सत्तापक्षले अत्तालिएर मिडिया ट्रायल गरेको दाबी गरिन् ।
‘यदि हामीले आचरणको कुरा गर्ने हो भने सबैको गरौँ । मानव तस्करीजस्तो आरोप मज्जासँग डिक्लियर गर्नुभयो, डिक्लियर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर ? आँट छ ?’, सांसद श्रेष्ठले आक्रोशित हुँदै सोधिन्, ‘एउटा महिला, जसले असजिलो समय कटाएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न नखोज्नुहोला ।’
टिप्पणीहरू