प्रधानमन्त्रीमा जंगबहादुर शैली देखियो : सांसद सापकोटा
विद्युतको बक्यौता नतिर्ने व्यापारीको लाइन नकाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएकोप्रति प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल सम्बन्धमा प्रधानमन्त्रीले जंगबहादुरको शैली देखाएको बताए ।
‘प्रधानमन्त्रीज्यूले विद्युत प्राधिकरणका महाप्रबन्धकलाई बोलाएर जंगबहादुरको शैलीमा आदेश दिनुभयो, विद्युतको लाइन जोडियोस्’, उनले भने, ‘मर्निंग शोज द डेज भन्ने उखान छ, यो सरकार के चाहन्छ र के को लागि गठन भएको हो यसैले स्पष्ट पार्छ ।’
प्रधानमन्त्री ओलीले डेडिकेटेड फिडर एवम् ट्रंक लाइन सम्बन्धमा आफूनिकटका व्यवसायीहरुलाई पालनपोषण गर्न प्राधिकरणलाई दबाब दिएको सांसद सापकोटाको दाबी छ ।
‘डेडिकेटेड फिडर एवम् ट्रंक लाइन सम्बन्धमा प्रचण्ड प्रधानमन्त्री र शक्ति बस्नेत उर्जामन्त्री हुँदा हामीले उपसमिति बनाएरै काम गरिरहेका थियौँ, तर अहिले ८ अर्ब बक्यौता रकमलाई चलखेल गरेर जे गर्न खोजिएको छ, त्यो आपत्तीजनक छ’, संसदमा आक्रोशित हुँदै उनले भने ।
सांसद सापकोटाले दुई ठूला दलले आगामी निर्वाचनमा माओवादीसँग नमिल्ने शर्तका आधारमा यो गठबन्धन बनेको जानकारी आफूले पाएको बताउँदै यसबाट आफूहरुलाई कुनै फरक नपर्ने स्पष्ट पारे ।
‘सत्ता पक्षका एक वरिष्ठ माननीयले आगामी गठबन्धनमा दुवैले नलिने गरी गठबन्धन गरियो भन्नुभएछ, क्या गजब ! भ्रष्टाचारले डुङडुङ्ती गन्हाएर सिनोमा परिणत हुन लागेको तपाईंहरुले हामीलाई टाउकोको मोल तोकेर शंका लाग्ने बित्तिकै गोली चलाउन आदेश दिएको हैन ?’, उनले भने, ‘गोलीसँग नडराएको माओवादीलाई तपाईंहरूले हेप्ने सोच्नुुभएको छ भने त्यो तपाईंहरुको दिवा सपना हुनेछ ।’
टिप्पणीहरू