संसदको रोष्टममा उभिएर पूर्वमन्त्रीको बयान- मैले पाँच हजार घुस बुझाएँ

संसदको रोष्टममा उभिएर पूर्वमन्त्रीको बयान- मैले पाँच हजार घुस बुझाएँ

जनता समाजजवादी पार्टी, नेपालका सांसद वीरेन्द्र प्रसाद महतोले देशमा बिचौलिया र भ्रष्टाचारीको बिगबिगी रहेको बताएका छन् । आज संसद बैठकमा उनले हिजोमात्रै आफूले पाँच हजार घुस खुवाउनुपरेको सुनाए ।  

प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका उनले छोरोको सर्टिफिकेट लिन विचौलियामार्फत शिक्षा अधिकृतलाई घुस बुझाएको बताएका हुन् । 

घटना सुनाउँदै महतोले भने, 'हुन त म भूपुमन्त्री, तर हिजो भर्खर सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु । मेरो छोरोको सर्टिफिकेट इक्यूभ्यालेन गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् । यो मिलेन, त्यो मिलेन भनेर टारिदिएछन् । किन मिलेन भनेर म आफै गएँ । त्यहाँ मलाई पनि एउटा अधिकृतले कागजात मिलेको छैन, अहिले मेरो चिया खाने टाइम भयो भनेर पन्छायो । तर त्यही एउटा विचौलिया रहेछ । त्यसलाई पाँच हजार दिएँ, पाँच मिनेटमै काम गरेर ल्याइदियो ।' 

सांसद महत्ताेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ठूलो कुरा गरेर सपना देखाउनुभन्दा पहिले जनताको न्यूनतम आवश्यकता पूरा हुने वातावरण तयार गरिदिन आग्रह गरेका छन् ।  'हामी चाहीँ सुशासनको कुरा गर्छौ, भ्रष्टाचारको कुरा गछौँ, कहाँबाट रोक्ने ? तलबाट रोक्ने कि माथिबाट रोक्ने ? त्यो कुरामा सरकार स्पष्ट हुन पर्यो', उनले भने ।

टिप्पणीहरू