दुई तिहाईका प्रधानमन्त्रीलाई बस चढेर दाउन्ने जान सल्लाह
ठुल्ठूला सपना देखाउने तर व्यवहारमा भने पुष्टि गर्न नसकेको विगत छ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको । विगतमा प्रधानमन्त्री हुँदा उहाँले रेल,पानीजहाज,घर-घरमा ग्यास पाइप जस्ता ठूला सपना देखाए पनि अहिलेसम्म पूरा भएको छैन ।
दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री हुँदासमेत हवाई सपना बाँड्नेबाहेक केही गर्न नसकेको भनी आम तहबाट आलोचित उनै ओली चौथोपटक मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा पुग्नुभएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री हुनुभएका उहाँलाई दुई तिहाई समर्थन प्राप्त भएको छ । आम नागरिकले सरकारबाट ठूला कुराभन्दा पनि स-साना सुधारको काम अपेक्षा गरेका छन् ।
संविधानविद् डा.भिमार्जुन आचार्यले प्रधानमन्त्री ओलीलाई देशको सडक अवस्था सुधार्न सुझाव दिनुभएको छ । एक पटक काठमाडौंदेखि दाउन्नेसम्म यात्रा गरेर सडकको अवस्था बुझ्न पनि उहाँको आग्रह छ ।
'प्रधानमन्त्रीलाई संसदमा दुईतिहाइ बढीको विश्वासको मत प्राप्त भएको छ । यसको भरपुर सदुपयोग गर्ने वचन प्रधानमन्त्रीले दिनुभएको छ',भिमार्जुन भन्नुहुन्छ, 'पहिलो काम एकपटक तत्कालै काठमाडौंबाट दाउन्नेसम्मको यात्रा गाडीमा गर्नुपर्यो ।'
देशका मुख्य सडकहरुको दुरावस्थाप्रति चिन्ता जनाउँदै उहाँले दशैँअघि नै यात्रा गर्न लायक बनाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । 'दशैं आउनु पहिले पूर्व,पश्चिम,उत्तर,दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्छ । अरू “ठूला”काम त्यसपछि गरे हुन्छ प्रमज्यू !', ओलीलाई संविधानविदको सल्लाह छ ।
टिप्पणीहरू