कर्णाली सरकारबाट बाहिरियो माओवादी
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका चार जना मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोतमन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गाबहादुर रावलले पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी गराएका हुन् ।
उनीहरुले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका छन् । माओवादीका मन्त्रीहरु तीन महिना नपुग्दै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
४० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १४ र एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका १३, राप्रपा र नेकपा समाजवादीका एक एक जना प्रदेशसभा सदस्य छन् ।
काँग्रेस र एमालेको गठबन्धनका कारण प्रदेश सभामा उनीहरुको स्पष्ट बहुमत देखिन्छ ।
टिप्पणीहरू