कत्लेआम गर्ने कांग्रेसीहरु मिल्ने तयारीमा

कत्लेआम गर्ने कांग्रेसीहरु मिल्ने तयारीमा

कांग्रेसका केही नेता सँगै बसेको तस्बिर सार्वजनिक भएलगत्तै कार्यकर्तामा उत्साह देखाउँदै कमेन्ट र स्टाटस पोस्ट गर्न थालिएका छन् ।    

अधिकांशले विगतको जस्तै गतिविधि दोहो¥याउने भए त्यस्तो एकता नगर्न सुझाव दिएका छन् भने अधिकांशले जिल्लाबाट केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिसमेत रहेका महेश खरेललाई गरिएको कारबाही सिफारिस फिर्ता लिन भनेका छन् । केन्द्रीय अनुशासन समितिको आगामी महिना बस्ने बैठकले २०७९ मा भएको निर्वाचनका आधारमा विभिन्न जिल्लाबाट पार्टी नेता तथा कार्यकर्तालाई गरिएको कारवाही स्वतः खारेज गर्ने तयारी गरेको छ ।

त्यतिबेला पार्टीले विभिन्न पार्टीसँग गरेको गठबन्धन चित्त नबुझेका कारण नेता तथा कार्यकर्ताले गरेको विद्रोहलाई कारबाही गर्नुहुन्न भन्ने कोणबाट भएका छलफल निश्कर्ष उन्मुख छन् । अहिले काभ्रेबाट कांग्रेसमा निर्वाचित दुई केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, मनोनीत शिवप्रसाद हुमागाईंं छन् ।     

नेताको तेजोबध गर्दै आपराधिक क्रियाकलापमा संलग्नहरूलाई च्याप्ने, संरक्षण गर्ने र त्यही आडमा विभिन्न गतिविधि गर्दै पार्टी कब्जाको रणनीति बनाएपछि वैचारिक पृष्ठभूमिका सबै नेता एकातर्फ जोडिन बाध्य भएका हुन् । आचार्य र हुमागाईं समूहलाई एकै स्थानमा ल्याउन सक्रिय पाण्डे तथा पौडेलहरूको समूहले हरेक मोर्चामा नेपाली कांग्रेसले पराजय ब्यहोर्नुपरेको निश्कर्षसहित आगामी जिल्ला, नगर, वडा तहका अधिवेशन तथा संसदीय फाँटमा विजयी गराउन, पार्टी कार्यकर्ताको संरक्षण गर्न, वैचारिक रूपमा संगठनलाई सशक्त बनाउन काभ्रे कांग्रेसमा ध्रुवीकरण शुरु भएको बताउन थालेका छन् । हुमागाईं समूहका अधिकांश नेता आचार्य समूहबाट हुमागाईं समूहमा विलिन भई एक समूह बनाउन तयार देखिएका छन् । हुमागाईंलाई हरेक पाइलामा साथ दिँदै आएका दिनेश लामा, प्रदेश क्षेत्रका सभापतिहरू, कुन्साङ लामालगायत एकातिर छन् । 

हुमागाईं र आचार्यबीचको बेमेलले काभ्रे कांग्रेस कमजोर बनेको निश्कर्षसहित दुबैतर्फका नेता तथा कार्यकर्ताले मिलनको प्रयास गराएका हुन् । दुबैलाई तीता–मीठा घटना बिर्संदै तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेसहितले खेलिरहेका थिए । हुमागाईं समूहका दिपेन्द्र पौडेललगायत दुबै नेताको मिलनले मात्रै काभ्रे कांग्रेस बलियो बन्ने तर्क प्रस्तुत गर्दै दबाब बढाएका थिए । दोश्रो पुस्ताका नेताको प्रयासमा नेताको एकता शुरु भएको युवा नेता मछिन्द्र लामाले सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्वसभापतिसमेत रहेका शिवप्रसाद हुमागाईं अन्तर्घातकै कारण हारेको निश्कर्ष निकाल्दै कांग्रेस काभ्रेले प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेलाई सचेत गराउने निर्णय गरेको थियो । केही नेताले पार्टी कार्यालयमा राखिएका नेताको तस्विरमा पोत्ने काम गरेका थिए । कांग्रेस काभ्रेको कार्यालय मधु आचार्य सभापति भएका बखत निर्माण भएको हो । शिव हुमागाईंको कार्यकालमा जग्गा खरिद गरिएको थियो । महेश खरेलले बुबा राजेन्द्र खरेलका नाममा तला नै निर्माण गरिदिएका थिए ।

–मोतीराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू