राति सहमति गर्नुहुँदैन भनेर कतै लेखिएको छ र ?

राति सहमति गर्नुहुँदैन भनेर कतै लेखिएको छ र ?
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा दिन र रात फरक नहुने बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जवाफ दिँदै राजनीतिक दलहरुबीच जुनसुकै बेला नयाँ सहमति हुनसक्ने उल्लेख गर्नुभयो । 

माओवादी केन्द्रकी सांसद दुर्गा राईले, ‘गत असार १७ गते त्यस्तो के आइलाग्यो कि १२ घण्टा पर्खनै नसक्ने गरी मध्यरातमै सहमति गर्नुपर्यो ?’ भनेर सोधेको सन्दर्भमा उहाँको उक्त धारणा आएको हो । 

प्रधानमन्त्री ओलीले ‘राजनीतिक दलहरुबीचको सहमति दिउँसो मात्रै हुनुपर्छ भन्ने कतै लेखेको छ र ?’ भन्दै प्रतिप्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सहमति भन्ने कुरा पनि साँझ गर्ने, बिहान गर्ने, वा राती नगर्ने भन्ने कतै लेखेको छ र ? पोलिटिकल पार्टीहरुको अफिस कहिल्यै बन्द हुँदैन । थकाइ लागेपछि दिउँसै सुत्न पनि सक्छन् । लेखकहरु, चिन्तकहरु, विचार–विर्मश गर्नेहरु राति बसेका हुन्छन् त । यसमा त्यति टाउको दुखाउनु पर्दैन । मैले हिजै सात बुँदे सहमति सार्वजनिक गरिसकेको छु ।’

त्यसअघि उहाँले सांसदहरुलाई लप्पन–छप्पन र बेतुकका प्रश्न नगर्न आग्रह गर्नुभएको थियो । सांसदहरुलाई गालीगलौज मिसिएका प्रश्न नगर्न अनुरोध गर्दै भन्नुभयो, ‘यो गरिमामय सदनमा भएका कुरा गरौं, सही कुरा गरौं, राजनीति फरक होला तर जथाभावी नबोलौ’, उहाँले भन्नुभयो, ‘मलाई लप्पन छप्पन गर्नु छैन, हामी गालमुखाल गर्न यहाँ आएका हैनांै, म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको होला, कसैलाई मर्का परेको होला, तर यो दलीय व्यवस्था हो ।’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनको विवादमा प्रधानमन्त्रीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई अनावश्यक दबाब दिएको बताएका थिए । सोही प्रसंगमा प्रधानमन्त्री ओलीले जवाफ दिँदै उद्योग बन्द गरेर बक्यौता रकम असुल नहुने बताउनुभएको हो ।

उहाँले थप्नुभयो, ‘मैले हिजो विश्वासको मत माग्दै गर्दा पनि भनिसकेको छु, सरकारले पाउनुपर्ने रकम असुल्नुपर्छ । जुन विद्युत प्रयोग नै गरेको छैन, उद्योगीहरुले त्यसको महशुल तिर्नुपर्दैन । यो फेरि आजको विवाद पनि हैन । ९÷१० वर्ष अघिदेखिको विवाद हो । लाइन काटिन्छ, जोडिन्छ । यो विवाद संवादबाट समाधान गर्ने हो । लाइन काटेर समस्या समाधान हुने हैन ।’

टिप्पणीहरू